बालेन नेतृत्वको सरकारले सुशासनमा विशेष जोड दिएको छ । सोही अन्तर्गत दोहोरो सुविधा दिइने मन्त्रालय, विभाग तथा विभिन्न कार्यालय खारेज गर्नुको साथै केही समायोजन गरिएका छन् ।
यद्यपि सिंहदरबारमै रहेका दुई मन्त्रालयले एउटै प्रकृतिको काम गरेकोबाट सरकार बेखबर देखिएको छ । विदेशमा रहेका नेपालीहरूको समस्या अनलाइनमार्फत सुनुवाइ गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले जेठ १२ गते ‘मोफा मित्र’ एप्स सार्वजनिक गरेको थियो । यता सोही प्रकृतिको एप्स युवा, श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको छ । यो मन्त्रालयले आज ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ सार्वजनिक गरेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार ‘मोफा मित्र’ एप्समार्फत विदेशमा समस्यामा परेका, हराएका वा अलपत्र परेका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि अनलाइन आवेदन दिन सकिने छ । वैदेशिक रोजगारी वा भ्रमणका क्रममा विदेशमा निधन भएका नागरिकको शव नेपाल ल्याउनका लागि आवश्यक समन्वय र निवेदन प्रक्रिया एपबाटै गर्न सकिने जनाइएको छ ।
विदेशमा काम गर्दा अङ्गभङ्ग भएमा वा मृत्यु भएमा पाउनुपर्ने क्षतिपूर्ति तथा बीमा रकमका लागि दाबी प्रक्रिया अघि बढाउन सकिने, विदेशस्थित नेपाली नियोग वा परराष्ट्र मन्त्रालयसँग सिधा सम्पर्क गरी आफ्ना समस्या वा गुनासो दर्ता गर्न र त्यसको स्थिति ट्रयाक गर्न, विभिन्न देशमा रहेका नेपाली दूतावासहरूको सम्पर्क नम्बर, राहदानी तथा कन्सुलर सेवासम्बन्धी सूचना र प्रश्नहरू सोध्न सकिने गरी परराष्ट्र मन्त्रालयले यो एप्स सञ्चालनमा ल्याएको हो ।
श्रम मन्त्रालयले सार्वजनिक गरेको ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ले पनि काठमाडौँ नधाएरै आफ्नै मोबाइल वा कम्प्युटरबाट आवश्यक प्रमाणहरू स्क्यान वा फोटो खिचेर अनलाइन अपलोड गरी उजुरी दर्ता गर्न सकिने, उजुरी दर्ता भइसकेपछि सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज र इमेलमार्फत ट्रयाकिङ कोड’ प्राप्त गर्ने, पोर्टललाई नेपाल प्रहरीको केन्द्रीय प्रणालीसँग जोडिएको, काठमाडौँ आउजाउ गर्नुपर्ने, बस्नुपर्ने र कागजात हराउने जस्ता समस्याबाट मुक्त तुल्याउने उद्देश्य उल्लेख छ ।
श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले परराष्ट्र मन्त्रालयले कस्तो एप्स सार्वजनिक गरेको छ भन्ने थाहा नभएको बताए । तर आफूहरुले विदेशमा रहेका पीडितहरूको उजुरीलाई व्यवस्थापन गर्न यो एप्स तथा अनलाइन सार्वजनिक गरेको उनको भनाइ छ । ‘अब उजुरी दिनका लागि पीडितहरू काठमाडौँमै आउनुपर्दैन, आफू बसेको ठाउँबाट उजुरी दिएपछि विभागले त्यसलाई अध्ययन गरेर पीडित पक्षलाई सम्पर्क गर्छ,’ उनले भने ।
वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित एक कार्यक्रममा ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक पोर्टलको औपचारिक सुरुवात गरेका हुन् ।