एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो

आप्रवासन आप्रवासन

 

गत आर्थिक वर्ष  २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापारको आकार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

 भन्सार विभागले बिहीबार सार्वजनिक गरेको २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको वार्षिक तथ्यांकअनुसार यो व्यापार हालसम्मकै उच्च हो । 

अघिल्लो वर्ष कुल व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँ बराबरको थियो । यस अवधिमा नेपालको कुल आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।

यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा नेपालको निर्यातमा पनि १३.८१ प्रतिशतको सुधार आएको छ। गत वर्ष नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्ष २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ थियो। आयातको तुलनामा निर्यातको वृद्धिदर केही सुस्त रहँदा व्यापार सन्तुलनमा चाप यथावत् देखिएको छ ।

आयात र निर्यात दुवै वृद्धि भए पनि आयातको हिस्सा ठुलो भएका कारण व्यापार घाटा बढेको तथ्यांकले देखाउँछ । कुल वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १६.६३ प्रतिशतले बढेको छ । २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको वार्षिक तथ्यांकअनुसार नेपालको कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख ९६ हजार रुपैयाँ पुगेको छ । 

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

तथ्यांकअनुसार आयात र निर्यातको अनुपातमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ६.५१ रहेको यो अनुपात गत आर्थिक वर्षमा २.१० प्रतिशतले बढेर ६.६५ पुगेको छ । यसको अर्थ नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गर्ने गर्दछ ।

यसैगरी, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १.७९ प्रतिशतले खुम्चिएर १३.०७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष १३.३१ प्रतिशत थियो । अर्कोतर्फ, कुल व्यापारमा आयातको हिस्सा भने सामान्य (०.२७ प्रतिशत) वृद्धि भई ८६.९३ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ८६.६९ प्रतिशत रहेको थियो ।