मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूको राहदानी पासपोर्ट रोजगारदाताले आफूसँग राख्ने अभ्यास अन्त्य गर्न महत्वपूर्ण पहल गरेको छ। दूतावासले मलेसियाका २,७५१ रोजगारदाता कम्पनीलाई इमेलमार्फत नेपाली श्रमिकहरूको राहदानी तत्काल सम्बन्धित श्रमिकलाई फिर्ता गर्न अनुरोध गरेको छ।
दूतावासका अनुसार मलेसियाको श्रम कानुन तथा श्रमिक अधिकारसम्बन्धी व्यवस्थाअनुसार कुनै पनि रोजगारदाताले श्रमिकको राहदानी अनावश्यक रूपमा आफ्नो नियन्त्रणमा राख्न मिल्दैन। राहदानी सम्बन्धित व्यक्तिको व्यक्तिगत सम्पत्ति भएकाले त्यसमा श्रमिककै पहुँच र नियन्त्रण हुनुपर्ने दूतावासले स्पष्ट गरेको छ।
दूतावासले रोजगारदाताहरूलाई श्रमिकको सहमति बिना राहदानी आफ्नो नियन्त्रणमा नराख्न तथा कानुनी व्यवस्थाको पालना गर्न आग्रह गरेको छ। यस कदमबाट नेपाली श्रमिकहरूको स्वतन्त्र आवतजावत, कानुनी सुरक्षा तथा व्यक्तिगत अधिकारको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यदि कुनै नेपाली श्रमिकको राहदानी अझै पनि रोजगारदाताले फिर्ता नगरेको अवस्थामा, सम्बन्धित श्रमिकलाई नेपाली दूतावास वा सम्बन्धित मलेसियाली निकायमा सम्पर्क गरी आवश्यक सहयोग लिन पनि दूतावासले आग्रह गरेको छ।