नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्ष पदको निर्वाचन प्रक्रिया अदालतको फैसलापछि मात्रै अघि बढाउने भएको छ। गत असार ५ गते सम्पन्न १३औं साधारणसभाबाट निर्वाचित अध्यक्ष रामप्रसाद गैरे अयोग्य ठहर भएपछि अध्यक्ष पद रिक्त रहेको छ।
अध्यक्ष पदका अर्का प्रत्यासी किशोरकुमार केसीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि एसोसिएसनले अदालतको निर्णय पर्खने निर्णय गरेको हो। अदालतले साउन ८ गतेका लागि पेशी तोकेको छ।
एसोसिएसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाका अनुसार अदालतको फैसलापछि मात्रै निर्वाचनको मिति तय गरिनेछ।
“अदालतको फैसला आएपछि मात्र चुनावको मिति तोक्छौं। अदालतले जे निर्णय गरे पनि चुनाव भने हुन्छ,” लामाले बताए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत सोमबार एसोसिएसनको काम कारबाही संस्थाको विधानअनुसार सञ्चालन गर्न निर्देशन दिएको थियो। साथै, अध्यक्ष चयनका लागि विधानबमोजिम निर्वाचन प्रक्रिया अपनाउन र अदालतबाट कुनै आदेश आए त्यसैअनुसार अघि बढ्न भनेको थियो।
एसोसिएसनको विधानको दफा ७ र ८ अनुसार रामप्रसाद गैरे अध्यक्ष पदका लागि अयोग्य ठहर भएपछि जिल्ला प्रशासन कार्यालयले अध्यक्षका निकटतम प्रत्यासी किशोरकुमार केसीलाई अध्यक्ष तोकेको थियो। तर निर्वाचित कार्यसमितिले केसीलाई अध्यक्ष स्वीकार नगरेपछि प्रथम उपाध्यक्ष सुवर्ण लामाले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।
केसी पक्षले अध्यक्ष पदको जिम्मेवारी तथा असार ५ गते सम्पन्न निर्वाचन प्रक्रियालाई लिएर अदालतमा मुद्दा दायर गरेको हो। उनले निर्वाचित अध्यक्ष गैरे, सल्लाहकार शंकरप्रसाद आचार्य, प्रथम उपाध्यक्ष सुवर्ण लामा र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाएका छन्।
एसोसिएसनको विधानको दफा १३ को उपदफा ४ मा अध्यक्ष पद रिक्त भएमा निर्वाचन प्रक्रियाबाट पदपूर्ति गर्ने व्यवस्था रहेको छ। अदालतको फैसलापछि सोही व्यवस्थाअनुसार नयाँ अध्यक्ष चयन प्रक्रिया अघि बढ्ने बताइएको छ।