वैदेशिक रोजगारीको नाममा विभिन्न देश पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीहरूबाट ४५ लाख ठगी गर्ने जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलभको प्रलोभनमा पारी न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम असुलेर समर्पक विहीन भएका उनीहरूलाई काठमाडौँ उपत्यका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूले युवायुवतीलाई विदेश पठाउने भन्दै लामो समयसम्म झुलाएर राखेको र पछि रकम हात पारी सम्पर्कविहीन हुने गरेका थिए। पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट यही साउन ८ गते पक्राउ गरिएको हो।
यस्तो छ पक्राउ पर्ने व्यक्ति र ठगीको विवरण
न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ३ लाख ठगी ः न्युजिल्याण्ड पठाइन्छिु भन्दै २ व्यक्तिबाट ३ लाख ठगी गरेको आरोपमा जिल्ला काठमाडौँ तारकेश्वर नगरपालिका–१० रुपन्देही बसोबास गर्दै आएका १ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५१ वर्षीय राजकुमार भण्डारी रहेका छन् । उनीलाई यही साउन आठ गते पक्राउ गरी सार्वजनिक गरिएको हो ।
पोर्चुगल पठाउँछु भन्दै १८ लाख ठगी ः पोर्चुगल पठाउँछु भन्दै १ व्यक्तिबाट १८ लाख ठगी गरेको आरोपमा काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१२ ओखलढुङ्गा बसोबास गर्दै आएका १ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ वर्षीय सुरेश घिमिरे रहेका छन् । उनीलाई यही साउन आठ गते नियन्त्रणमा लिइएको हो ।
थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइयो
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले अपरिचित व्यक्ति वा आधिकारिक दर्ता नभएका संस्थालाई रकम नबुझाउन र सचेत रहन सर्वसाधारणलाई आग्रह समेत गर्दै आइरहेको छ ।