अमेरिकाले भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूमाथि भिसा प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयले भारतीय ट्राभल एजेन्सीहरूले अवैध आप्रवासनलाई बढवा दिएको भन्दै भिसा प्रतिबन्ध लगाएको हो ।
यस अन्तर्गत भारतमा आधारित र सञ्चालित ट्राभल एजेन्सीका मालिक र वरिष्ठ कर्मचारीहरूले अब अमेरिकाको भिसा पाउने छैनन् ।
यद्यपि, भिसा प्रतिबन्धमा पर्ने ट्राभल एजेन्सी, एजेन्ट र व्यक्तिहरूको विवरण खुलाइएको छैन ।
मन्त्रालयले प्रतिबन्ध आप्रवासन र राष्ट्रियता ऐनको धारा २१२Aथ्रीC अनुसार लगाइएको भनेर स्पष्ट पारेको छ । सो ऐनले विदेशीलाई भिसा प्रतिबन्ध लगाउन सक्ने अधिकार अमेरिकी विदेश मन्त्रीलाई दिएको छ । सोही अनुरूप मन्त्रालयले नयाँ प्रतिबन्ध जारी गरेको हो ।
यो निर्णय अमेरिकी आप्रवासन कानुन र नीति लागू गर्न, कानुनी शासन कायम राख्न र सुरक्षाका हिसाबले महत्त्वपूर्ण रहेको मन्त्रालयको दाबी छ ।
यसअघि गत मार्चमा मन्त्रालयले अवैध आप्रवासनलाई सघाउने विदेशका सरकारी अधिकारी र कर्मचारीहरूमाथि भिसा प्रतिबन्ध लगाएको थियो ।