स्पेनले नेपालीसहितका आप्रवासी कामदार तथा विद्यार्थीहरूलाई सहज हुने गरी नयाँ आप्रवासन नियम ल्याएको छ । स्पेनको समावेशीकरण, सामाजिक सुरक्षा र आप्रवासन मन्त्रालयले आप्रवासीको काम र बसोबासको प्रक्रियालाई सजिलो बनाउने गरी नयाँ नियम लागु गरेको हो।
नयाँ नियमले अवैध तरिकाबाट स्पेन पुगेर बसोबास गरिरहेका आप्रवासीलाई कानुनी मान्यता दिने प्रक्रिया सरल बनाएको छ। अब स्पेनमा २ वर्षदेखि बसोबास गरिरहेका आप्रवासीले स्थायी बसोबासको अनुमति प्राप्त गर्न सक्ने भएका छन् । यसअघि यस्तो अनुमति पाउन ३ वर्ष बसेको हुनु पर्दथ्यो ।
अनुमति नवीकरण गर्न छुटेका वा अस्वीकृत भएका आप्रवासीले पनि पुन: आवेदन दिन पाउने छन्।
यस्तै, असाइलमको निवेदन अस्वीकृत भएका आप्रवासीलाई समेत २०२६ सम्मको लागि विशेष अस्थायी बसोबास अनुमतिको सुविधा दिइएको छ । अब आप्रवासीले स्पेनमा सुरुबाटै काम गर्ने अधिकार समेत प्राप्त गर्ने छन् ।
नयाँ नियमले स्पेनमा अध्ययनरत नेपालीसहितका विदेशी विद्यार्थीलाई समेत सजिलो बनाइदिएको छ । विदेशी विद्यार्थीहरूले अब हप्तामा ३० घण्टा काम गर्न पाउने भएका छन् । यसअघि विदेशी विद्यार्थीलाई हप्तामा २० घण्टा मात्र काम गर्ने अनुमति थियो ।
स्पेनले २०२४ डिसेम्बर ३१ भन्दा अघिदेखि स्पेनमा बसोबास गरिरहेका करिब ४ लाख ७० हजार अवैध आप्रवासीहरूलाई वैधता दिने प्रस्ताव समेत अघि सारेको छ। यद्यपि, वैधता पाउन त्यस्ता आप्रवासीले आपराधिक रेकर्ड नभएको तथा बसोबास र कमजोर सामाजिक अवस्था रहेको प्रमाणित गर्नुपर्ने छ।