कन्सुलर प्रमाणीकरण अब अनलाइनमै : परराष्ट्र मन्त्री खनालद्वारा ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ को शुभारम्भ

आप्रवासन आप्रवासन

 

परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर प्रमाणीकरण सेवालाई थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले विकसित नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका छन्।

बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री खनालले प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्। परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले नेपालका सरकारी निकायबाट जारी वा प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्र, सिफारिस पत्र, आधारभूत कागजात तथा अन्य आवश्यक कागजातहरूको कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने गरी उक्त प्रणाली विकास गरेको जनाएको छ।

मन्त्रालयका अनुसार नयाँ प्रणाली सञ्चालनमा आएपछि सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउनुका साथै सेवाग्राहीको समय तथा लागतसमेत बचत हुने अपेक्षा गरिएको छ।