युवा तथा श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ पुनरवलोकन गरी नयाँ ऐन ल्याउने तयारी भइरहेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो जानकारी दिएका हुन्।
युवाको बदलिँदो अपेक्षा, श्रम बजार र प्रविधिअनुसार राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी र युवासम्बन्धी विषयमा नेतृत्वदायी संस्थाका रूपमा विकास गर्न नयाँ ऐन ल्याउन लागिएको उनले बताए। राष्ट्रिय युवा ऐनको मस्यौदा नेपाल कानुन आयोगले तयार गरी मन्त्रालयमा पठाइसकेको समेत उनले जानकारी दिए।
युवाको क्षेत्रमा विकास भएका नयाँ आयाम र अन्तर्राष्ट्रिय परिवेशलाई राष्ट्र निर्माणमा परिचालन गर्ने उद्देश्यले युवा नीति, २०८२ जारी गरिएको उनले उल्लेख गरे। उक्त नीति आगामी दशकमा युवालाई बदलिँदो विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र भएको मन्त्री यादवको भनाइ छ।
संसदमा बोल्दै मन्त्री यादवले भने, ‘आज युवाको अपेक्षा, समय, श्रम बजार र प्रविधि समेत बदलिएको छ। त्यसैले संस्थाहरू पनि बदलिनुपर्छ। युवा परिषद्लाई थप प्रभावकारी तथा युवासम्बन्धी विषयमा थप नेतृत्वदायी संस्थाको रूपमा विकास गर्ने गरी राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को पुनरावलोकन गरी नयाँ ऐन ल्याउन, राष्ट्रिय युवा ऐनको मस्यौदा नेपाल कानुन आयोगबाट तयार भई मन्त्रालयमा प्राप्त भएको छ।’
युवा नीतिको महत्त्व दर्शाउँदै उनले थपे, ‘युवाको क्षेत्रमा विकास भएका नयाँ आयाम र अन्तर्राष्ट्रिय परिवेशलाई राष्ट्र निर्माणमा परिचालन गर्ने गरी युवा नीति, २०८२ आएको छ। यो नीति आगामी दशकमा युवालाई बदलिँदो विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो।’
चालु आर्थिक वर्षको बजेट तथा प्राथमिकताका बारेमा स्पष्ट पार्दै उनले भने, ‘युवालाई नेतृत्व, सीप र रोजगारीसँग जोड्ने गरी चालु आर्थिक वर्षको बजेट विनियोजन भएको छ। युवाको सीप विकास गर्ने, रोजगारी बढाउने तथा उद्यम र श्रम बजारसँग जोड्ने र स्थानीय तहसम्म अवसर प्रदान गर्ने कुरालाई प्राथमिकतामा राखिएको छ।’
सरकारले युवालाई नेतृत्व सीप र रोजगारीसँग जोड्न चालु आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरेकोसमेत मन्त्री यादवले बताएका छन्।