काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न देशहरूमा पठाइदिने बहानामा ठगी गर्ने ५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूले कुल २ करोड ७२ लाख ५० हजार रुपैयाँ ठगी गरेको र यसबाट १ एक सय १८ जना युवायुवतीहरू पीडित भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै लामो समयसम्म झुक्क्याइ सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्ला मोरङ, बेलबारी नगरपालिका वडा नं. २ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. ५ बस्ने प्रेम पुरीले जापान पठाइदिने प्रलोभनमा पारी सबैभन्दा धेरै १ सय १४ जना पीडितहरूबाट कुल दुई करोड पच्चीस लाख ठगी गरेका छन्। उनलाई काठमाडौँ महानगरपालिका वडा नं. ३ बाट पक्राउ गरिएको हो। जिल्ला काभ्रेपलान्चोक, मण्डनदेउपुर नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ७ बस्ने अच्युत दुलालले क्यानडा पठाइदिने भन्दै १ जना पीडितबाट सैँतीस लाख ठगी गरेका छन्। उनलाई गोकर्णेश्वरबाट पक्राउ गरिएको हो।
जिल्ला कञ्चनपुर, भिमदत्त नगरपालिका वडा नं. ८ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ८ बस्ने करण ऐरले क्रोएसिया पठाइदिने प्रलोभनमा पारी १ जना पीडितबाट छ लाख ठगी गरेका छन्। उनलाई काठमाडौँ महानगरपालिका वडा नं. १२ बाट पक्राउ गरिएको हो। जिल्ला काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. १२ बस्ने सुनिता श्रेष्ठले युरोप पठाइदिन्छु भन्दै १ जना पीडितबाट तीन लाख ५० हजारठगी गरेकी थिइन्। उनलाई काठमाडौँ महानगरपालिका वडा नं. १२ बाट पक्राउ गरिएको हो। जिल्ला कालिकोट, खाँडाचक्र नगरपालिका वडा नं. २ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २८ बस्ने बिर्ख बि.क.ले क्रोएसिया पठाइदिने भन्दै १ जना पीडितबाट एक लाख ठगी गरेका छन्। उनलाई काठमाडौँ महानगरपालिका वडा नं. १६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।