नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलले नेपाल र भारतबिच सीमापार डिजिटल भुक्तानी कनेक्टिभिटीलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
नेपाल भ्रमणमा आउने भारतीय पर्यटकद्वारा क्यूआर कोडमा आधारित यूपीआई भुक्तानीको बढ्दो प्रयोग तथा नेपालको एनपीआई र भारतको यूपीआईबिच सुरु भएको अन्तरआबद्धताले दुई देशबिचको भुक्तानी प्रणालीलाई प्रभावकारी बनाएको हो। यस व्यवस्थाबाट दुवै देशका नागरिकले रियल–टाइममा ‘पर्सन–टु–पर्सन’ (पीटूपी) रकम पठाउन र पाउन सक्नेछन्।
विश्वभर हुने रियल–टाइम भुक्तानीको करिब ५० प्रतिशत हिस्सा ओगट्ने यूपीआईमार्फत मासिक २३ अर्बभन्दा बढी कारोबार हुने गर्छ। सन् २०२५ मा नेपाल आएका २ लाख ९० हजारभन्दा बढी भारतीय पर्यटकका लागि फोनपे नेटवर्कमार्फत पशुपतिनाथ, मनकामना र चन्द्रागिरिजस्ता प्रमुख पर्यटकीय स्थलमा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने सुविधा उपलब्ध भएको छ। यसका साथै, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यले गर्दा मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गरी बैंक खाताको विस्तृत विवरणविना नै दुई देशबिच सुरक्षित रेमिट्यान्स पठाउन सकिने भएको छ।
एनपीसीआई इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले उपभोक्ता र व्यवसायीका लागि निर्बाध सीमापार भुक्तानी अनुभव प्रदान गर्न आफूहरू केन्द्रित रहेको बताए।
उनले भने, ‘हाम्रो प्रयास नेपालमा डिजिटल भुक्तानीको स्वीकार्यता विस्तार गर्ने र भारतीय यात्रुका लागि कारोबार सरल बनाउनेतर्फ केन्द्रित छ।’ फोनपे र एनसीएचएलसँगको सहकार्यबारे उनले थपे, ‘हामी सुरक्षित र रियल–टाइम भुक्तानी प्रणाली विस्तार गर्दैछौँ, जसले दुई देशबिचको आर्थिक तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनेछ।’
कम्पनीले आगामी दिनमा नेपालका नियामक निकायहरूसँग समन्वय गरी यूपीआईमा आधारित सेवालाई थप प्रभावकारी बनाउने तथा पीटूपी रेमिट्यान्स प्रणालीलाई अन्य बैंकहरूसम्म विस्तार गर्ने योजना बनाएको छ।