काठमाडौँ । नेपाल र भारतबिचको सुरक्षा तथा सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यसमूहको १४औँ बैठक भारतको देहरादुनमा आयोजना हुने भएको छ।
बिहीबार र शुक्रबार सञ्चालन हुने उक्त बैठकमा दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सहभागिता रहने छ।
बैठकमा नेपालको टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गर्ने तय भएको छ। यसअघि यस कार्यसमूहको १३औँ बैठक पोखरामा सम्पन्न भएको थियो।
बैठकमा मुख्य गरी सीमापार हुने आपराधिक गतिविधि, तेस्रो मुलुकका नागरिकहरूको अवैध घुसपैठ तथा आवतजावत, भारतबाट नेपालतर्फ हुने लागुऔषधको तस्करी र हातहतियारको अवैध कारोबार जस्ता गम्भीर विषयमा गहन छलफल हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। भारतले नेपालको बाटो हुँदै नक्कली नोटको कारोबार हुने गरेको भन्दै निरन्तर गुनासो गर्दै आएकाले त्यस विषयमा पनि बैठकमा कुराकानी हुने बताइएको छ।
त्यस्तै, पछिल्लो समय नेपालमा भएका धार्मिक झडपका क्रममा सीमा सुरक्षाको विषय प्रमुखताका साथ उठेको छ। हिन्दु-मुस्लिमबिचको झडपमा भारततर्फबाट पनि मानिसहरू आएर संलग्न भएको विभिन्न प्रतिवेदनहरूले देखाएकाले सो विषय र सीमा अतिक्रमणका सवालमा समेत छलफल हुनेछ। बैठकमा दुवै देशका सुरक्षा निकायबिच सूचनाको आदानप्रदान बढाउने र नेपाली सुरक्षा निकायलाई भारतीय सहयोग उपलब्ध गराउने विषय समावेश गरिएका छन्।
यसका साथै पोखरामा सम्पन्न १३औँ बैठकमा भएका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिनेछ। सीमा सुरक्षाका सन्दर्भमा दुवै तर्फका प्रमुख जिल्ला अधिकारी र भारतका डिस्ट्रिक्ट मजिस्ट्रेट तथा नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबिच भएका पूर्वसम्झौता र प्रगतिको पनि समीक्षा हुने जनाइएको छ।
पोखरामा आयोजित १३औँ बैठकमा सीमापार आपराधिक गतिविधि नियन्त्रण, एकीकृत जाँच चौकी निर्माण, सडक तथा रेल सञ्जालजस्ता सीमा पूर्वाधारको सुदृढीकरणमा केन्द्रित रहेर छलफल भएको थियो। सो क्रममा सुरक्षा निकायहरूको सशक्तिकरण, क्षमता अभिवृद्धि र विपद् जोखिम न्यूनीकरणमा सहकार्य सुदृढ गर्ने उपायहरू प्रस्तुत गरिएका थिए। उक्त बैठकमा पारस्परिक कानुनी सहायता सन्धिलाई अन्तिम रूप दिने प्रक्रियाको प्रगति र सीमा जिल्ला समन्वय समितिको कार्यसम्पादनबारे समीक्षा गर्दै सीमा व्यवस्थापन बैठकहरू नियमित रूपमा आयोजना गर्ने सहमति भएको थियो।