परराष्ट्रमन्त्री खनालसँग साउदीका राजदूत मोनैखिरको शिष्टाचार भेट, नेपाली श्रमिकको पारिश्रमिकबारे चासो

आप्रवासन आप्रवासन

 

 नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-साउदी अरबबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याण र आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।

भेटका क्रममा दुवै पक्षले नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको महत्त्वलाई स्मरण गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण तथा आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। दुई देशबाट हुने उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप गति दिनुका साथै आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पुर्‍याउने धारणा परराष्ट्रमन्त्री खनालले राखेका थिए।

भेटमा बोल्दै उनले भने, ‘नेपाल र साउदी अरबबीचको कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ महत्त्वपूर्ण अवसर हो। आगामी दिनमा दुवै देशबीच उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिँदै आपसी हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्नुपर्छ।’

हालै क्षेत्रीय द्वन्द्वका क्रममा साउदी अरबले आफ्ना नागरिक तथा त्यहाँ रहेका नेपाली श्रमिकको सुरक्षा र संरक्षणका लागि अपनाएका सुरक्षात्मक उपायप्रति मन्त्री खनालले धन्यवाद व्यक्त गरे। साउदी अरबमा कार्यरत केही नेपाली श्रमिकले आफूले गरेको कामको उचित पारिश्रमिक नपाएको विषयमा चासो व्यक्त गर्दै उनले त्यस्ता विषयमा आवश्यक ध्यान दिन साउदी पक्षलाई आग्रह गरेका छन्। 

त्यसैगरी साउदी अरबमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल फिर्ता ल्याउने कार्यमा साउदी अधिकारीहरूले पुर्‍याउँदै आएको सहयोगको समेत उनले प्रशंसा गरे।