ग्रिस अवैध आप्रवासन

अवैध आप्रवासन रोक्न कडा कानुन ल्याउँदै ग्रिस

आप्रवासन आप्रवासन

आफ्नो देशमा भइरहेको अवैध आप्रवासन रोक्न ग्रिसले कडा कानुन प्रस्ताव गरेको छ । ग्रिस सरकारले अवैध आप्रवासनलाई निरुत्साहित गर्न विभिन्न कानुनी व्यवस्थामा हेरफेर गर्दै विधेयक संसद्मा पेस गरेको हो ।

ग्रिसका आप्रवासन मन्त्री माकिस भोरिडिसका अनुसार अब ७ वर्ष ग्रिसमा बसेपछि पिआर पाउने प्रावधान खारेज गरिनेछ । सो व्यवस्थाको व्यापक दुरुपयोग भएको र आप्रवासन बढाएको सरकारको ठहर छ ।

यस्तै, अवैध रूपमा ग्रिसमा बस्ने जो कोहीलाई कहिल्यै वैधानिकता नदिइने प्रस्ताव गरिएको छ । अवैध रूपमा ग्रिस प्रवेश गर्नेमाथि ५ वर्षसम्मको जेल सजायको प्रावधान समेत समावेश गरिएको छ।

हरेक वर्ष युरोप छिर्न चाहने अवैध आप्रवासीहरूले ग्रिसलाई माध्यम बनाउँदै आएका छन् । बर्सेनि त्यसरी ५५ हजारदेखि ६५ हजार आप्रवासीहरू ग्रिस प्रवेश गर्ने गरेको सरकारको आँकडा छ ।

सन् २०२४ मा मात्रै ग्रिसको प्रहरीले कुल ७४ हजार अवैध आप्रवासीहरूलाई पक्राउ गरेको थियो । तर तीमध्ये केवल २ हजार ५०० लाई मात्र निष्कासित गरिएको थियो। पक्राउ पर्ने आप्रवासीहरूले देश निकालाबाट बच्न आफ्नो मूल देश नबताउने गरेको र बताउनेले पनि गलत विवरण दिने गरेकाले देश निकालाको सङ्ख्या न्यून देखिएको सरकारको दाबी छ।

त्यसैले सरकारले कानुनै बनाएर अवैध आप्रवासनलाई निरुत्साहित गर्न खोजेको बताएको हो । सो विधेयक ग्रिसको मन्त्रिपरिषद्ले पारित गरेर संसद्मा पेस गरिसकेको छ । सरकारसँग बहुमत भएकोले विधेयक अर्को महिना संसद्बाट पारित हुने अपेक्षा  छ।