आप्रवासीलाई जर्मन नागरिकता

आप्रवासीलाई ३ वर्षमै नागरिकता दिने प्रावधान हटाउँदै जर्मनी

आप्रवासन आप्रवासन

जर्मनीले तीन वर्ष बसोबास गरेका आप्रवासीलाई नागरिकता दिने हालको व्यवस्था हटाउने भएको छ । जर्मनीका गृहमन्त्री अलेक्ज्याण्डर डोब्रिन्ड्टले फास्ट ट्र्याकमा नागरिकता पाउन सकिने हालको प्रावधान खारेज गर्ने व्यवस्थासहितको विधेयक मन्त्रिपरिषद्मा पेस गरेका हुन् । जर्मनी जान चाहने आप्रवासीको सङ्ख्या न्यूनीकरण गर्न नयाँ व्यवस्था गर्न लागिएको मन्त्री डोब्रिन्ड्टले बताएका छन् ।

सामान्यतया, जर्मनीमा ५ वर्ष बसोबास र अन्य मापदण्ड पुरा गरेपछि आप्रवासीलाई नागरिकता प्रदान गर्न सकिने प्रावधान छ ।

तर यसअघिका चान्सलर ओलाफ स्कोल्जको सरकारले श्रम अभाव कम गर्न भन्दै नागरिकता सम्बन्धी व्यवस्थालाई खुकुलो बनाएको थियो । जस अन्तर्गत जर्मन भाषामा राम्रो पकड भएका र उच्च शैक्षिक तथा व्यावसायिक उपलब्धि हासिल गरेका आप्रवासीलाई ३ वर्षमै फास्ट ट्र्याकमा नागरिकता दिन सकिने व्यवस्था छ ।

तर अहिले जर्मनीमा सरकार फेरिएसँगै नागरिकता कानुनमा कडाइ गर्न लागिएको हो ।

मन्त्रिपरिषद्मा पेस गरिएको यो प्रस्तावलाई आगामी बैठकले अनुमोदन गरेर विधेयकका रूपमा संसद् पठाउने तयारी छ । यदि संसद्ले विधेयक पारित गरेको खण्डमा त्यसले जर्मनीमा रहेका नेपालीसहितका आप्रवासीलाई सिधा असर गर्ने छ ।