अमेरिकाले १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्धसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै १२ देशका नागरिकलाई प्रतिबन्ध जारी गरेका हुन् ।
प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, रिपब्लिक अफ कङ्गो र इक्वेटोरियल गिनी छन् । यस्तै, एरिट्रिया, हाइटी, लिबिया, सोमालिया, सुडान र यमनका नागरिक पनि प्रतिबन्धमा परेका छन् । यी देशका नागरिकले अब अमेरिका प्रवेश गर्न पाउने छैनन् ।
यीबाहेक ७ देशका नागरिक माथि पनि आंशिक प्रतिबन्ध लगाइएको छ । जसमा बुरुन्डी, क्युबा, लाओस्, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला छन् । यी देशका नागरिकको अमेरिका प्रवेशमा उच्च कडाइ गरिने छ ।
ट्रम्पले राष्ट्रिय सुरक्षामा जोखिम रहेको भन्दै ती देशका नागरिकलाई पूर्ण र आंशिक प्रतिबन्ध लगाइएको बताएका छन् । खतरनाक विदेशी तत्त्वबाट अमेरिकालाई बचाउन यो प्रतिबन्ध लगाइएको उनको तर्क छ ।
यो प्रतिबन्ध यही जुन ९ देखि लागू हुनेछ ।
यसअघि आफ्नो पहिलो कार्यकालको दौरान सन् २०१७ मा पनि ट्रम्पले ७ वटा मुस्लिम देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए ।