चिनियाँ राष्ट्रपति सीद्वारा ‘ब्यारियर लेक’ को निगरानी गर्न निर्देशन

आप्रवासन आप्रवासन

 

 चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतको केरुङ काउन्टीमा पहिरोका कारण बनेको ब्यारियर लेक (पहिरोले नदी थुनेर बनेको ताल) र आसपासको पहाडी क्षेत्रको अवस्था नजिकबाट निगरानी गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार सीको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको बैठकमा उनले तालको स्थिरता र आसपासका पहाडको अवस्थामाथि विशेष ध्यान दिँदै सम्भावित दोस्रो चरणका विपद् रोक्न प्रभावकारी उपाय अपनाउन निर्देशन दिएका हुन् ।  समाचार एजेन्सी सिन्ह्वाका अनुसार उच्च हिमाली, चिसो र भिरालो भूभाग, परिवर्तनशील मौसम तथा आसपासका हिमनदी, हिमताल र सम्भावित भौगर्भिक जोखिमका कारण उद्धार तथा राहत कार्य निकै चुनौतीपूर्ण बनेको छ।

बैठकमा सीले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारणसमेत गरेका थिए । चीनले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनामा तीन जनाको मृत्यु भएको र ५५८ जना बेपत्ता छन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार नेपालतर्फ पनि १०० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिइएको छ।