विदेशमा कार्यरत वा बसोबासरत नेपालीहरूले जन्म वा मृत्युजस्ता व्यक्तिगत घटना दर्ता गर्नुपरे कस्तो प्रक्रिया पूरा गर्ने ? यदि तपाई चीन, जापान, कोरिया, कतार, साउदी, युएई, पोर्चुगल, अमेरिका, क्यानडा, स्पेन, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, थाइल्यान्ड वा मलेसियामा हुनुहुन्छ भने ती देशमा रहेका नेपाली दूतावास मार्फत घटना दर्ता गराउन सकिने छ । दूतावास नभएका देशमा नेपाली नियोग कार्यालयबाट दर्ता गर्न सकिने छ ।
दर्ताका लागि आवश्यक पर्ने कागजातहरू यस्ता छन्:
जन्म दर्ताको हकमा: बाबु वा आमाको नागरिकता र पासपोर्टको प्रतिलिपि, स्वास्थ्य संस्थाबाट प्राप्त प्रमाणपत्र, घरमै जन्म भएको खण्डमा स्थानीय प्रमाण र जन्म सूचना फारम ।
मृत्यु दर्ताको हकमा: मृतकको नागरिकता र पासपोर्ट, स्वास्थ्य संस्थाको मृत्यु प्रमाणपत्र, सूचना दिने व्यक्तिको नागरिकता प्रमाण र मृत्यु सूचना फारम ।
यदि व्यक्ति स्वयं उपस्थित हुन नसकेमा आवश्यक कागजातसहित हुलाकमार्फत पनि दर्ता गर्न सकिन्छ।
नेपाल सरकारको नियमानुसार घटना घटेको ३५ दिनभित्र दर्ता गर्दा कुनै शुल्क लाग्दैन । तर, समय सीमा नाघेमा तोकिएको दस्तुर लाग्नेछ ।