वैदेशिक रोजगार व्यवसायी संघले फेरि भन्यो– मलेसिया रोजगारीमा एकाधिकार र असमान व्यवस्था अस्वीकार्य

आप्रवासन आप्रवासन

 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा फरेन वर्कर्स सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस)मार्फत सीमित संख्याका वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्रै प्राथमिकता दिने गरी हुन सक्ने व्यवस्थाप्रति आपत्ति जनाएको छ।

समस्या नसुल्झिएको भन्दै संघले पुनः विज्ञप्ति जारी गरेर मलेसिया लामो समयदेखि नेपाली श्रमिकका लागि प्रमुख तथा आकर्षक वैदेशिक रोजगार गन्तव्य रहँदै आएको उल्लेख गर्दै श्रमिक भर्ना प्रक्रियामा एकाधिकार र असमान व्यवस्था स्वीकार्य नहुने स्पष्ट पारेको छ।

संघले यसअघि पनि पटकपटक विज्ञप्ति जारी गरेर मलेसिया रोजगारीमा हुन लागेको एकाधिकार र असमान व्यवस्था स्वीकार्य नहुने भन्दै आन्दोलनमा होमिएको थियो ।

संघले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारबाट समान प्रकृतिको वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र प्राप्त सबै व्यवसायी संस्थाको समान अधिकार र समान अवसर सुनिश्चित हुनुपर्ने उल्लेख गरेको छ । कुनै निजी संस्था वा प्रणालीमार्फत सीमित व्यवसायीलाई मात्रै अवसर दिने, अन्य इजाजतपत्र प्राप्त संस्थालाई प्रक्रियाबाट बाहिर राख्ने वा बजार प्रवेशमा अवरोध गर्ने व्यवस्था नेपालको कानुनी तथा प्रतिस्पर्धासम्बन्धी व्यवस्थाको भावनाविपरीत हुने संघले जनाएको छ।

संघले नेपालको संविधान तथा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षणसम्बन्धी कानुनी व्यवस्थाले समेत एकाधिकार, कृत्रिम अभाव र प्रतिस्पर्धा सीमित गर्ने गतिविधिलाई निरुत्साहित गरेको उल्लेख गरेको छ।

संघका अध्यक्ष डिक बहादुर खत्रीले श्रमिकलाई अनावश्यक आर्थिक भार पर्ने वा कुनै निजी संस्था तथा सीमित समूहको आर्थिक हितलाई प्राथमिकता दिने प्रणाली स्वीकार गर्न नसकिने बताए । ‘समान प्रकृतिको इजाजतपत्र प्राप्त सबै व्यवसायीलाई समान अवसर, श्रमिकका लागि सुरक्षित र न्यून लागतको भर्ना प्रक्रिया तथा नेपाल र मलेसियाबीचको सहमतिमा आधारित पारदर्शी प्रणाली नै वैदेशिक रोजगार क्षेत्रको आधार हुनुपर्छ,’ उनले भने ।

संघले नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायलाई मलेसिया सरकारसँग आवश्यक संवाद र वार्ता गरी एकाधिकार वा असमान व्यवस्था अन्त्य हुने गरी प्रभावकारी कूटनीतिक पहल गर्न पनि आग्रह गरेको छ।

bairo-realese-548x768