अमेरिकाको लस एन्जलसमा आप्रवासी पक्राउ गर्न पुगेका अध्यागमन प्रहरीमाथि स्थानीयले घेरा हालेपछि स्थिति तनावपूर्ण बनेको छ ।
लस एन्जलसको प्यारामाउण्ट जिल्लामा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट, आईसले गत हप्ताबाटै छापा मारिरहेको छ । जस क्रममा शुक्रबार ४४ जना गरी हालसम्म ११८ आप्रवासीलाई पक्राउ गरिएको छ ।
सो क्षेत्रमा प्राय ल्याटिन समुदायको बसोबास छ । तर आईसले निर्दयी व्यवहार गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।
विरोधका क्रममा स्थानीयले आईसका अधिकारीहरूलाई घेरा हालेका थिए र स्थिति झडपमा परिणत भएको छ । प्रहरीले अश्रु ग्याँस र लाडी चार्ज प्रहार गरेको छ ।
यद्यपि, स्थानीयको प्रदर्शन नरोकिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सो क्षेत्रमा २ हजार सैनिक परिचालन गर्न आदेश जारी गरेका छन् । ट्रम्प प्रशासनले कानुन उलङ्घन गर्ने अधिकार कसैलाई नभएको भन्दै कसैलाई नछाडिने चेतावनी दिएको छ ।
यद्यपि, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले भने ट्रम्प प्रशासनको सो कदमको विरोध गरेका छन् । न्युसमले आइसका छापालाई निर्दयी भन्दै स्थानीयलाई शान्तिपूर्ण विरोध गर्ने अधिकार रहेको बताएका छन् ।
उक्त क्षेत्रमा आज पनि प्रदर्शन जारी छ ।