मलेसिया रोजगारीमा सिन्डिकेट खडा गर्न खोजिएको भन्दै व्यवसायीले गुहारे रवि लामिछाने

आप्रवासन आप्रवासन

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको प्रतिनिधि मण्डलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेको छ ।

संघले मलेसियाको श्रमिक भर्ना प्रक्रियामा सीमित संस्थाहरूलाई मात्र समावेश गरी सिन्डिकेट खडा गर्न खोजिएको भन्दै लामिछानेको ध्यानाकर्षण गराएको जनाएको छ । संघका अध्यक्ष डिक बहादुर खत्रीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सभापति लामिछानेसँग भेट गरी वैदेशिक रोजगार क्षेत्रको नीतिगत सुधार र मलेसिया रोजगारीमा देखिन थालेको एकाधिकारबारे छलफल गरेको छ ।

भेटका क्रममा व्यवसायीहरूले विशेष गरी नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रमिक भर्ना प्रक्रियामा एफडब्लुसिएमएसमार्फत सीमित २५ वटा मात्र वैदेशिक रोजगार व्यवसायी संस्थालाई समेटेर अन्य व्यवसायीलाई प्रक्रियाबाट बाहिर राख्ने प्रयास गरिएको भन्दै कडा आपत्ति जनाएका छन् ।  संघले यस व्यवस्थाको आधिकारिकता, छनोटको मापदण्ड, पारदर्शिता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । व्यवसायीहरूको गुनासो सुनेपछि रास्वपा सभापति लामिछानेले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

उनले मलेसिया रोजगारीमा सीमित संस्थालाई मात्र छनोट गरिएको विषयको निष्पक्ष छानबिन गरी दोषी देखिएका सम्बन्धित व्यक्ति वा संस्थामाथि हदैसम्मको कानुनी कारबाही अघि बढाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघका प्रतिनिधिहरूले वैदेशिक रोजगार क्षेत्रमा एकाधिकार, अस्वस्थ प्रतिस्पर्धा र सीमित समूहको प्रभाव स्थापित हुने कुनै पनि प्रयासले श्रमिक, व्यवसायी तथा दुई देशबिचको श्रम सम्बन्धमै नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका थिए । 

सम्पूर्ण प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र सबैलाई समान अवसर मिल्ने खालको हुनुपर्ने सङ्घको स्पष्ट धारणा छ । छलफलमा समग्र वैदेशिक रोजगार क्षेत्रलाई थप सम्मानित, मर्यादित, व्यवस्थित र श्रमिकमैत्री बनाउन आवश्यक नीतिगत सुधारका विषयमा पनि कुराकानी भएको थियो । श्रमिकको हित, व्यवसायीको समान अधिकार र यस क्षेत्रको संस्थागत सुधारका लागि राजनीतिक दल, सरकार र सबै सरोकारवाला पक्षबिच सहकार्य आवश्यक रहेको विषयमा दुवै पक्ष सहमत देखिएका छन् ।