अध्यागमन विभागमा कार्यरत रहँदा सरकारी प्रणालीको दुरुपयोग गरी गैरकानुनी रूपमा भिसा जारी गरेको र राजश्व हिनामिना गरेको अभियोगमा एक कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रौतहट घर भएका ३० वर्षीय राजीव महतोलाई ललितपुरबाट पक्राउ गरेको हो।
अध्यागमन विभागमा तत्कालीन कम्प्युटर अपरेटरका रूपमा कार्यरत रहँदा महतोले 'नेपाली पोर्ट' प्रणालीमा आफ्नो पहुँचको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ छ। उनले पदको दुरुपयोग गरी कानुन बमोजिम लाग्ने भिसा शुल्क समेत नलिई विदेशी नागरिकलाई भिसा जारी गरी सरकारी राजश्व हिनामिना गरेको पाइएको सीआईबीको जिकिर छ ।
महतोले लक्जेम्वर्गका नागरिकको भिसा जारी गर्दा नियमअनुसार लाग्ने १ हजार २ सय अमेरिकी डलर (करिब १ लाख ५९ हजार ४०८ रुपैयाँ) राजश्व दाखिला नगरी सरकारी कागजात कीर्ते गरेको आरोप छ ।
त्यसैगरी, उनले 'ट्राभल सेन्ट्रलाइजेसन सिस्टम' मार्फत बदनियतपूर्ण ढङ्गले अमेरिकी नागरिकको नाममा समेत गैरकानुनी रूपमा भिसा सिर्जना र स्वीकृत गरेको अभियोग लागेको छ।
काठमाडौँ जिल्ला अदालतले दिएको पक्राउ अनुमति अनुसार उनलाई बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५, टीकाथलीबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका महतोमाथि 'लिखत सम्बन्धी कसुर' मा थप अनुसन्धान गर्न ब्यूरोको हिरासतमा राखिएको सीआईबीका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा ब्यूरोले यो अनुसन्धान अघि बढाएको थियो।