रसुवा बाढीले नेपाली पर्यटनको मुख्य सिजनको सुरुवातमै धक्का लागेको छ ।
यसका कारण नेपाल भ्रमणको अग्रिम बुकिङ गरेका केही पर्यटकहरूले आफ्नो यात्रा रद्द (क्यान्सिल) गर्न थालेका छन् । खासगरी होटल, ट्रेकिङ, टुर र हवाई टिकटको बुकिङ रद्द हुने क्रम देखिएको छ । नेपाली पर्यटकहरूका लागि पनि सिजन उपयुक्त मानिन्छ ।
यसैबेला माउन्टेनर र एडभेन्चर टुरिस्टहरू नेपाल आउने गरेका थिए । ‘सगरमाथासहित उच्च हिमाल चढ्नेहरू अहिलेदेखि नै नेपालका अग्ला पहाड र साना हिमालहरू चढ्ने गर्छन् । दसैँको बेला ट्रेकिङको घुइँचो नै लाग्छ । चैत–वैशाखपछि भदौ–असोज–कात्तिक हिमाल चढ्ने सिजन हो,’ साहस टुरका प्रबन्धक सौरभ बजगाईँ भन्छन् ।
यस्तोमा अमेरिकी सरकारले जारी गरेको नेपाल टुर एडभाइजरीले पनि नकारात्मक प्रभाव पार्यो । अमेरिकाले ‘लेभल २’ अर्थात् नेपाललाई रेड जोन राखेर आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको थियो ।
यो पनिअमेरिकाको उक्त निर्णय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा नेपालबारे आएका खबरले आउन चाहने पर्यटक रोकिएका टुर एजेन्सीहरू नै बताउँछन् ।
विनाशकारी बाढीका कारण मानसरोवर र गोसाइँकुण्ड यात्रामा रहेका सयौँ स्वदेशी तथा विदेशी पर्यटक, व्यवसायी, भरिया र मजदुरले ज्यान गुमाएका छन् भने कतिपय अझै बेपत्ता छन् ।
सरकारको प्रारम्भिक अनुमान अनुसार बाढीका कारण पर्यटन क्षेत्रमा मात्र करिब ५० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार यो करिडोरमा रहेका १४२ होटल, ५७ रेस्टुरेन्ट, १४१ पर्यटकीय सवारीसाधन र २७ सम्पदामा क्षति पुगेको छ । पदमार्गका रूपमा प्रख्यात लाङटाङ र गोसाइँकुण्ड पदमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
मनसुन सिजनमा नेपाल आउने खर्चालु भारतीय तथा गैरआवासीय भारतीय पर्यटकको प्रमुख गन्तव्य कैलाश मानसरोवर रहँदै आए पनि यो वर्ष अब ठप्प हुने मन्त्रालयको बुझाइ छ ।
होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले यो प्राकृतिक विपत्ति केवल भोटेकोशी र त्रिशूली नदीको तटीय र पहाडी बेसिन क्षेत्रमा मात्र सीमित रहेको भन्दै अन्य स्थानको प्रचार गर्न आवश्यक रहेको बताउँछन् । उनका अनुसार नेपालका अन्य प्रमुख र अत्यधिक लोकप्रिय पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सुरक्षित र सामान्य अवस्थामा सञ्चालित छन् तर त्यसको प्रचारभन्दा धेरै नेपालको बाढीसम्बन्धी समाचार आउँदा पर्यटन क्षेत्रमा असर परिरहेको छ ।
‘अन्तर्राष्ट्रिय जगतमा नेपालभरि नै ठुलो विपद् परेको र सम्पूर्ण पर्यटकीय गतिविधि बन्द भएजस्तो गलत र अतिरञ्जित बुझाइ फैलिन सक्ने भएकाले नेपाल सरकार, विभिन्न देशमा रहेका कूटनीतिक नियोगहरू र पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाहरूले तत्कालै वस्तुपरक, तथ्यपूर्ण र विश्वसनीय सूचना प्रवाह गर्नुपर्छ,’ रातोपाटीसँग उनले भने ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डेले पनि एउटा निश्चित र सीमित भौगोलिक खण्ड मात्र बाढीबाट प्रभावित भएको र देशका बाँकी पर्यटकीय गन्तव्यहरू सुरक्षित रहेको स्पष्ट पार्दै सरकार र मिडियाले यसलाई प्राथमिकता दिनुपर्ने बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका अन्य आन्तरिक विमानस्थलहरूबाट हुने हवाई उडानहरू पूर्ण रूपमा नियमित, सुरक्षित तवरले सञ्चालन भइरहेका छन् । देशका विभिन्न भागमा पर्यटकहरूको आवतजावत र दैनिक गतिविधिहरू सामान्य नै छन् । ‘अब नेपालको बाढी भन्दै नकारात्मक हल्ला फैलाउनु आवश्यक छैन, बजारलाई सकारात्मक ऊर्जा दिनु नै आजको आवश्यकता हो । अहिले मिडियाले पनि सुरक्षित क्षेत्रहरूको प्रचार गर्नुपर्ने बेला हो,’ पाण्डेले भने ।
गलत प्रचार र अपूर्ण जानकारीका कारण समग्र मुलुककै पर्यटन क्षेत्र ठप्प हुने अवस्था सिर्जना हुन नदिन अहिले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र निजी क्षेत्रका पर्यटन व्यवसायीहरू मिलेर एउटा विशेष सूचना कक्ष (सेल) स्थापना भएको छ । यस विशेष सेलले बाढी प्रभावित पर्यटक, उनीहरूका चिन्तित परिवार र सञ्चारमाध्यमहरूलाई २४सै घण्टा सत्य जानकारी तथा आवश्यक उद्धार र सहजीकरण सम्बन्धी सहयोग प्रदान गरिरहेको छ ।
पर्यटन बोर्डले यसबारे भनेको छ– ‘बाढीबाट वास्तविक क्षति भएको पर्यटकहरूको विवरण, उनीहरूको अवस्था र परिवारसँगको कनेक्सनको काम भइरहेको छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले एक विशेष भिडियो सन्देश जारी गर्दै विश्वभरका पर्यटकहरूलाई ढुक्क भएर नेपाल भ्रमणमा आउन हार्दिक अपिल गरेका छन् ।
आफ्नो सन्देशमा बाढी प्रभावित क्षेत्रहरूमा उद्धार र राहत कार्य युद्धस्तरमा भइरहेको जानकारी दिँदै पौडेलेले भनेका छन्– ‘नेपालका अन्य सम्पूर्ण पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सुरक्षित, पहुँचयोग्य र पर्यटकीय सेवाका लागि सुचारु रहेको छ । सङ्कटको व्यवस्थापनका र्यापिड रेस्पोन्स टिमसमेत गठन भएको छ ।’
पर्यटनमन्त्री पौडेलका अनुसार यो टिमले प्रभावित पर्यटकहरूको सूचना व्यवस्थापन गर्ने, सीमा नाकाहरू तथा विमानस्थलहरूमा पर्यटकहरूको आवतजावतलाई सहज बनाउने र अवरुद्ध भएका पर्यटकीय गतिविधिहरूलाई पुनः सञ्चालन गर्न सरकारहरूसँग समन्वय गरिरहेको छ ।
पर्यटन व्यवसायी फूर्वा शेर्पा सरकारले नकारात्मक धारणालाई चिर्नका लागि कूटनीतिक च्यानल र बलियो सार्वजनिक सम्बन्ध (पब्लिक रिलेसन्स) अभियानको भूमिका महत्त्वपूर्ण हुने बताउँछन् । ‘सरकारले विभिन्न देशमा रहेका आफ्ना नियोग र राजदूतहरूमार्फत सम्बन्धित देशका परराष्ट्र मन्त्रालय र सञ्चारमाध्यमहरूलाई पत्र लेखी नेपालको वास्तविक र वस्तुपरक अवस्थाबारे जानकारी गराउनु पर्दछ,’ उनी भन्छन्, ‘नेपाल सुरक्षित छ भन्ने क्याम्पियन नै चलाएर सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय ब्लगर र इन्फ्लुएन्सरहरूलाई नेपालका सुरक्षित पर्यटकीय गन्तव्यहरूमा भ्रमण गराई उनीहरूमार्फत प्रत्यक्ष भिडियो र अनुभवहरू सेयर गराउनुपर्छ ।’
उनका अनुसार जेनजी आन्दोलनले ट्रेकिङ र पर्वतारोहण तथा पर्यटकलाई खासै असर नगरे पनि अहिलेको म्यासेजले गर्न सक्छ । ‘पोहोरको जेनजी आन्दालनले एक–दुई महिना सहर घुम्न आउने टुरिस्टहरूलाई केही असर पार्यो तर एडभेन्चर टुरिस्टहरूलाई असर पारेन, तर अहिलेको भिडियो र समाचारहरूले असर पार्न सक्छ । सरकारले त्यता सोच्नुपर्छ,’ शेर्पाले भने ।
नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को अगस्ट महिनामा ८५ हजार ४ सय ४४ जना अन्तर्राष्ट्रिय पर्यटकहरू हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन् ।
यो सङ्ख्या गत वर्ष यही बेलाको भन्दा ३.६ प्रतिशतले धेरै हो । समयमै कूटनीतिक र प्रवर्द्धनात्मक कदमहरू नचालिए आगामी अक्टोबर र नोभेम्बरका मुख्य पर्यटकीय महिनाहरूमा अझ गम्भीर र नकारात्मक असर देखिन सक्ने पर्यटन व्यवसायीहरूको चिन्ता छ ।