राहदानी बनाउन आउने सेवाग्राहीको सङ्ख्या बढेपछि काठमाडौँस्थित राहदानी विभागमा पछिल्लो समय अत्यधिक भिड हुन थालेको छ।
विशेष गरी इजरायलमा रोजगारीका लागि आवेदन खुला भएपछि राहदानी बनाउनेको चाप एकाएक बढेको विभागले जनाएको छ।
सेवाग्राहीको भिड बढेपछि विभागले आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै उपस्थित हुन आग्रह गरेको छ। भिड व्यवस्थापनका लागि विभाग परिसरमा प्रहरीसमेत परिचालन गरिएको थियो। प्रहरीले माइकिङ गरेर सेवाग्राहीलाई तोकिएको समयअनुसार उपस्थित हुन आग्रह गरे पनि साँझ ५ बजेसम्म भिड कम भएको थिएन।
इजरायलमा रोजगारीका लागि आवेदन दिने म्याद आगामी असोज २६ गतेसम्म रहेकाले हतार नगरी राहदानीको आवेदन प्रक्रिया अघि बढाउन विभागले आग्रह गरेको छ। रोजगारीको आवेदनका लागि आवश्यक राहदानी बनाउन सेवाग्राही एकैपटक विभागमा आउँदा सेवा व्यवस्थापनमा समेत चुनौती थपिएको विभागको भनाइ छ।
विभागका अनुसार नयाँ राहदानी प्रणाली सुरु भएदेखि आम सेवाग्राहीलाई निरन्तर राहदानी सेवा दिइँदै आएको छ। सेवाग्राहीको सङ्ख्या बढेपछि सहज रूपमा सेवा प्रवाह गर्न तोकिएको प्रक्रिया र समय पालना गर्न विभागले आग्रह गरेको हो। भिड व्यवस्थापनका लागि विभागले सार्वजनिक बिदाका दिनसमेत राहदानीसम्बन्धी सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
यसैबिच गत साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार अब जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था छ। त्यसका बाबजुद विभिन्न जिल्लाबाट काठमाडौँस्थित राहदानी विभागमै आएर आवेदन दिने सेवाग्राहीको सङ्ख्या उल्लेख्य रहेको विभागले जनाएको छ।
विभागले अत्यावश्यक अवस्थाबाहेक सेवाग्राहीलाई आफूलाई पायक पर्ने जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन अनुरोध गरेको छ। नजिकैको कार्यालयबाट सेवा लिन सके काठमाडौँस्थित विभागमा बढेको चापसमेत कम हुने विभागको अपेक्षा छ।
राहदानी सेवामा देखिएको चाप व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज र व्यवस्थित रूपमा सेवा प्रदान गर्न विभागले सबैलाई आफ्नो आवेदनमा तोकिएको मिति र समय पालना गर्न तथा अनावश्यक रूपमा विभागमा भिड नगर्न आग्रह गरेको छ।