इजरायल र इरानबिच पुन द्वन्द्व सुरु भएको छ । द्वन्द्वले भीषण रूप लिँदै गइरहेको सन्दर्भमा धेरैलाई चासो छ कि यी २ देशबिच सैन्य शक्तिका हिसाबले को बढी शक्तिशाली छ ।
जनसङ्ख्या र भूगोलको हिसाबले इरान इजरायलभन्दा निकै ठुलो छ । इरानको जनसङ्ख्या ८ करोड ८० लाख छ भने क्षेत्रफल १६ लाख वर्ग किलोमिटर छ । २२ हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको इजरायलको जनसङ्ख्या ९४ लाख मात्र छ ।
जिडिपीको हिसाबले इरानभन्दा इजरायल सम्पन्न छ । इजरायलको जिडिपी ५२५ बिलियनका छ भने इरानको ४१३ बिलियनको छ । भौगोलिक हिसाबले इजरायल र इरानबिचको हवाई दूरी १ हजार ७ सय २४ किलोमिटर छ ।
त्यसैले दुवै देशले एक अर्कामाथि आक्रमण गर्नका क्षेप्यास्त्र प्रयोग गर्ने गरेका छन् । इरानसँग कम्तीमा ३ हजार ब्यालेस्टिक क्षेप्यास्त्र रहेको अनुमान छ ।
क्षेप्यास्त्रसँगै दुवै देशले एक अर्कामाथि आक्रमण गर्न ड्रोनको प्रयोग गर्ने गरेका छन् । इरानले छोटो र लामो दूरीमा प्रहार गर्ने मिल्ने ड्रोन पनि निर्माण गरेको छ । इजरायलले भने उसलाई आवश्यक क्षेप्यास्त्र विभिन्न देशबाट आयात गर्ने गर्छ ।
इजरायलले आयात गर्ने हातहतियारमध्ये करिब ६९ प्रतिशत अमेरिकी हुन् ।अमेरिकाले इजरायललाई वार्षिक सैन्य सहायताका रूपमा ३ अर्ब ८ करोड अमेरिकी डलर दिने गरेको छ । रक्षा खर्चतर्फ इरानभन्दा इजरायलले बढी लगानी गर्ने गरेको छ ।
गत वर्ष इजरायलको रक्षा बजेट १९ अर्ब अमेरिकी डलर थियो भने इरानको रक्षा बजेट ७ अर्ब ४ करोड अमेरिकी डलर थियो । इजरायलसँग आक्रमणका लागि ३४० वटा लडाकु विमानहरू छन् ।
इरानसँग ३२० लडाकु विमान रहेको अनुमान छ । इजरायलसँग लामो दूरीमा आक्रमण गर्न सक्ने F15 जेट विमान, राडार छल्न सक्ने F35 जेट विमान र तीव्र गतिमा आक्रमण गर्न सक्ने हेलिकप्टरहरू छन् ।
इरानी जल सेनासँग २२० वटा पानीजहाज छन् भने इजरायलसँग ६० वटा छन् । सेनाको सङ्ख्याका हिसाबले इजरायलभन्दा इरान बढी शक्तिशाली छ । इजरायलसँग १ लाख ७० हजार सैनिक छन् । यस्तै, इजरायलसँग ४ लाख हाराहारीमा जगेडा सैनिक छन् ।
उता, इरानसँग भने ६ लाख सैनिक छन् । दुवै देश भौगोलिक दूरीका हिसाबले निकै टाढा भएका कारण २ देशका सेनाबिच प्रत्यक्ष युद्ध हुने सम्भावना भने छैन ।