माटोमुनि ११ सय ४८ शव : प्रहरीको प्रयोगशालामा थालियो डीएनए जाँच

आप्रवासन आप्रवासन

 

भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकाहरूको शव गाडेर धमाधम व्यवस्थापन गरिँदै छ ।

भदौ १० मा तिब्बतर्फको ल्हेन्दे खोलाको बहाव अचानक बढेसँगै रसुवाको भोटेकोशी र त्रिशुलीमा अप्रत्याशित बाढी आएको थियो । बाढीमा परेर अहिलेसम्म १३ सय ७४ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरूले भोटेकोशी, त्रिशुली र नारायणीको किनारबाट शव संकलन गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार भोटेकोशी बाढीमा परेका ४ हजार ७७ जना अझै सम्पर्कविहीन छन् । शव सडेर संक्रमण फैलिनसक्ने आकलन गर्दै सरकारले गाडेर शवलाई सुरक्षित भण्डारण गरिरहेको छ । भोटेकोशीले बगाएर लगेका शवहरू भेटिएको धादिङ र चितवन हुँदै पश्चिम नवलपरासीलगायत जिल्लामा शव गाडेर व्यवस्थापन गरिएको छ ।

काठमाडौँ, नुवाकोट, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, पाल्पा र कास्कीमा शवहरू गाडिएका छन् ।  

सुरक्षाकर्मीहरूले सुरुमा शव पखालेर पहिचानको प्रयास गर्छन् । पहिचान नभएमा शवको पूर्ण र अन्य भागको फोटो खिचेर लासजाँच मुचुल्का गर्छन् । शव गाड्नुअघि कम्तीमा ५ थान फोटो अनिवार्य लिनुपर्ने प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । त्यसपछि फोटो प्रहरीको वेबसाइटमा अपलोड गरिन्छ । पहिचानका लागि सो फोटो अपलोड गरिएको हो । त्यसपछि डीएनए गर्न नमुना संकलन गरेर शव सुरक्षित व्यवस्थापनका लागि गाड्ने गरिन्छ । हालसम्म ११४८ वटा शव गाडिएको डीआईजी काफ्लेले बताए । बाढीले बगाएर मृत्यु भएका १०२ जनाको मात्र शव सनाखत भएको छ ।

सनाखत नभएका शवहरू प्रहरीले विशेष झोला ‘एयर टाइट ब्यागमा’मा  प्याक गरेर गाड्ने गरेको छ । शव गाड्नुअघि डीएनए जाँचका लागि नमुना लिइन्छ । डीएनएको नमुना र शव प्याक गरिएको झोलामा एउटै नम्बरको ट्याग राखिन्छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेका अनुसार डीएनए स्याम्पल र शवको संकेत नम्बर समान हुन्छ, व्यवस्थापन गरेपछि पिल्लरमा पनि ट्याग नम्बर राखिन्छ । मृतकका परिवारको डीएनएसँग नमुना मिलेमा शव उत्खनन गरेर हस्तान्तरण गरिने एसएसपी घिमिरेले बताए ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोकाको बन क्षेत्रमा २३१ वटा शव गाडिएको छ । रसुवा, नुवाकोट र धादिङबाट ल्याएका शवहरू त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि दक्षिणढोका वन क्षेत्रमा रहेको सेनाको ब्यारेक रहेको क्षेत्रमा गाडिएको हो । भदौ १५ मा त्यहाँ ४६ वटा शव गाडेर सुरक्षित भण्डारण सुरु गरिएको थियो ।

चितवनस्थित नारायणी नदीमा भेटिएको ३६३ मध्ये १४ शवको पहिचान खुलेको छ । पहिचान नखुलेका ३४९ वटा शव गाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभुषण यादवले रातोपाटीलाई बताए । चितवनको देवघाट वन क्षेत्रमा शव गाडेर व्यवस्थापन गरिएको छ । बुधबार चितवनमा एउटा शवको खुट्टाको भाग भेटिएको डीएसपी यादवले जानकारी दिए ।

रसुवामा १७८ शव भेटिएको भए पनि त्यहाँ शव गाडिएको छैन । रसुवाका डीएसपी अशोक थापाका अनुसार त्यहाँ भेटिएका शव व्यवस्थापनका लागि नुवाकोटमा पठाइएको छ । रसुवाबाट ल्याइएको ५६ वटा शव बिहीबार विदुर नगरपालिका–६ मा गाडेर व्यवस्थापन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए । उनले भने, ‘आजबाट शव गाड्न थालेका छौं, रसुवाबाट ल्याइएको ५६ वटा र नुवाकोटमा भेटिएको एउटा शव गाडेर व्यवस्थापन गरिएको छ ।’

कास्कीको पोखरा महानगरपालिका–१६ स्थित उपल्लो दिप सिसौघारी स्थित सिञ्चाइको सरकारी जंगलमा २५ वटा, नवलपरसाी पूर्वको कावासोती नगरपालिका–३ अठ्ठाइस बिघास्थित ज्योति कुञ्ज सामुदायिक वनमा १०५ वटा र देवचुली नगरपालिका–१ स्थित दिव्य मध्यवर्ती सामुदायिक वनमा ५५ वटा शव गाडेर व्यवस्थापन गरिएको छ ।

पश्चिम नलवरासीस्थित नारायणीको किनारमा भेटिएको ८ वटा शव पाल्पामा लगेर व्यवस्थापन गरिएको छ । तानसेन नगरपालिका–१ च्यानडाँडस्थित सार्वजनिक जंगलमा ८ वटा शव गाडेर भण्डारण गरिएको पाल्पाका एसपी दिपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।

गोरखामा ६७ वटा शव गाडेर व्यवस्थापन गरिएको छ । भेटिएका ७७ वटा शवमध्ये ६ वटाको सनाखत भएको र अन्य शव सहिद लखन गाउँपालिकाको बुंकोट घाट र गोरखा नगरपालिका–१२ को अबुवाघाटमा गाडेर व्यवस्थापन गरिएको गोरखामा डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीले थाल्यो डीएनए जाँच

पहिचान नभएका शवहरूको डीएनए जाँच सुरु गरिएको छ । प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशलामा डीएनए परिक्षण थालिएको हो । संकलिन नमुनाबाट डीएनए जाँच सुरु गरिएको विधि विज्ञान प्रयोगशालाका एसएसपी योग बहादुर पालले रातोपाटीलाई बताए । शवबाट संकलित नमुना र एकाघरका परिवारबाट लिइएको रगतको नमुना परीक्षण गरेर पहिचान गर्न डीएनए गर्न लागिएको हो । काठमाडौँमा प्रहरी अस्पतालले परिवारका सदस्यहरूको डीएनए प्रोफाइलिङ गरिरहेको छ । प्रहरीले काठमाडौँ बाहिरबाट पनि सम्पर्कविहीन भएकाहरूका परिवारका सदस्यहरूको रगत संकलन गरेर डीएनए परिक्षणका लागी सो नमुना काठमाडौँमा ल्याएको छ ।

शवबाट निकालिएको स्याम्पल र परिवारका सदस्यहरूको डीएनए प्रहरीको प्रयोगशाला बाहेक खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि जाँच गर्ने तयारी छ । डीएनए म्याच भए परिवारलाई गाडिएको शव निकालेर हस्तान्तरण गरिने काठमाडौँका एसएसपी घिमिरेले बताए । उनले भने, ‘डीएनए म्याच भएको अवस्थामा माटोमुनि भण्डारण गरिएको शव निकालेर परिवारलाई बुझाउँछौँ ।’