अपडेट : मालवाहक जहाजमा भीषण आगलागी हुँदा चीनमा कम्तीमा २० जनाको मृत्यु

आप्रवासन आप्रवासन

चीनको पूर्वी बन्दरगाह सहर छिङदाओमा मर्मतका लागि राखिएको विदेशी झन्डावाहक मालवाहक जहाजमा भीषण आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । 

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार जहाजमा कुल ४२ जना सवार थिए । तीमध्ये १२ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ भने पाँच जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल लगिएको र अवस्था स्थिर रहेको बताइएको छ । थप पाँच जना अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार एपीले चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएको छ ।

जहाज छिङदाओस्थित एक शिपयार्डमा मर्मतसम्भारका लागि राखिएको थियो । बिहीबार स्थानीय समयअनुसार बिहान करिब ११ः१५ बजे आगलागी सुरु भएको थियो ।

 करिब साढे तीन घण्टापछि दिउँसो २ः३० बजेतिर आगो नियन्त्रणमा लिइएको बताइएको छ । घटनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् । 

प्रधानमन्त्री ली छ्याङले पनि जहाजभित्र फसेका व्यक्तिको तत्काल उद्धार गर्न र थप दुर्घटना हुन नदिन आवश्यक सावधानी अपनाउन निर्देशन दिएका छन् । आगलागीको कारणबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ ।