गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढी अघि चीनतर्फ विभिन्न कामले गएका नेपालीहरू धमाधम नेपाल फर्किन थालेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार आजसम्म ७६८ जना नेपाली घर फर्किएका छन् । बाढीपछि चीनको केरुङलगायत सुरक्षित क्षेत्रमा बसेका उनीहरू केरुङ हुँदै तातोपानी नाकाबाट नेपाल प्रवेश गरी घर फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जानकारी गराए अनुसार केरुङबाट तातोपानी नाका हुँदै नेपाल आएका बाढी प्रभावितलाई निःशुल्क सवारीसाधनको व्यवस्था गरी राजधानीसम्म पुर्याएको छ ।
चीनमा रहेका नेपाली नागरिकलाई बाढी प्रभावित क्षेत्रबाट चिनियाँ पक्षले तातोपानी नाकासम्म ल्याइदिने गरेको छ भने । त्यहाँबाट बाह्रबिसे नगरपालिकाले निःशुल्क बसबाट राजधानीसम्म ल्याइ दिने गरेको छ । त्यस्तै, त्यसमा उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोक, बलेफी गाउँपालिका, सुनकोसी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाले सहजीकरण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार भदौ १८ गते ११४ जना, १९ गते १५५ जना, २० गते ९६ जना, २१ गते १०५ जना, २२ गते १०६ जना, २३ गते ९४ जना र २४ गते ३३ जना गरी ७६८ जना र भदौ २५ गते ४६ जना तातोपानी नाका हुँदै नेपाल आएका छन्।