विश्व बजारमा कच्चा तेलको भाउ तीव्र रूपमा बढेको छ । इरानसँगको युद्ध र खाडी क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजारमा लामो समयसम्म ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने चिन्ता बढेपछि तेलको मूल्यमा उछाल आएको हो ।
बिहीबार लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रतिब्यारेल १०८ डलर नाघेको थियो । मे महिनायता पहिलो पटक ब्रेन्टको भाउले यो स्तर छोएको हो । दिनको कारोबार अन्त्य हुँदा ब्रेन्ट क्रुड ६ दशमलव ३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७ डलर ६३ सेन्टमा पुगेको छ ।
उता, न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको भाउ पनि ६ अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढेर प्रतिब्यारेल १०२ डलर ४८ सेन्टमा पुगेको थियो । यो पनि मे महिनापछिको उच्च हो । २०२६ सुरु भएयता ब्रेन्ट र डब्लूटीआई दुवैको भाउ ७५ प्रतिशतले बढिसकेका छन् ।
‘यो वृद्धिले बजारमा भू–राजनीतिक जोखिम लामो समयसम्म कायम रहने अनुमान देखाउँछ । फारसको खाडीमा बढेको तनाव तत्काल कम हुने कुनै विश्वसनीय सङ्केत देखिएको छैन,’ बजारको पछिल्लो अवस्थाबारे विश्लेषण गर्दै आईएनजीका विश्लेषकहरूले भनेका छन् ।
तेलको मूल्य बढेसँगै अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन थप ५ सेन्ट बढेर ४ डलर २७ सेन्टमा उक्लिएको छ । डिजेलको मूल्य पनि ग्यालनै ४ सेन्ट बढेर ५ डलर ९८ सेन्ट भएको छ । डिजेलको प्रयोग कृषि, ढुवानी तथा रेल यातायातमा समेत ठुलो मात्रामा हुने भएकाले यसको मूल्य वृद्धिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा थप लागत बढाउने चिन्ता छ ।
किन बढिरहेछ तेलको मूल्य ?
तेलको मूल्य बढ्नुको प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड म्पको पछिल्लो अभिव्यक्तिलाई पनि मानिएको छ । ट्रम्पले बुधबार डलासमा आफू इरानसँग सम्झौता खोजिरहेको अवस्थामा नरहेको बताएका थिए । उनले युद्ध तत्काल अन्त्य हुने अपेक्षा नरहेको सङ्केत गर्दै नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्रै तेलको मूल्य घट्ने बताएका छन् ।
‘निर्वाचन सकिए लगत्तै तेलको मूल्य तीव्र रूपमा तल झर्नेछ । यो घट्नेछ र हामी यसलाई तल ल्याउनेछौँ,’ ट्रम्पले पत्रकारहरूसँग भनेका थिए । यद्यपि, युद्ध कहिलेसम्म जारी रहन्छ भन्ने स्पष्ट छैन । कमोडिटी बजारका विज्ञहरूले इरानसँगको गतिरोध लामो समयसम्म जारी रहे ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १२० डलर वा त्यसको पनि माथि पुग्नसक्ने चेतावनी दिएका छन् । केही अनुमानले मूल्य १५० डलरसम्म पुग्न सक्ने सम्भावना समेत औँल्याएका छन् ।
युद्ध लामो समयसम्म जारी रहन सक्ने सङ्केतले विश्व बजारमा कच्चा तेलको आपूर्तिबारे चिन्ता थप बढाएको छ । युद्ध सुरु भएको प्रारम्भिक महिनामा मूल्य नियन्त्रणमा राख्न विभिन्न देशहरूले संयुक्त रूपमा ४० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति गरेका थिए । तर करिब ६ महिनापछि अमेरिकाको रणनीतिक पेट्रोलियम भण्डार सन् १९८० को दशकयताकै न्यून स्तरमा पुगेको छ ।
यसबिच, इरानसँग पुनः बढेको तनावका कारण साउदी अरबको कच्चा तेल उत्पादन अगस्टमा सन् १९९० यताकै न्यून स्तरमा झरेको ब्लुमबर्ग न्युजले जनाएको छ । यद्यपि, उक्त रिपोर्टलाई तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको समाचारमा उल्लेख छ ।
महँगी बढ्ने नयाँ चिन्ता
यसैबिच,अमेरिकी ब्युरो अफ इकोनोमिक एनालिसिसले सार्वजनिक गरेको तथ्यांकअनुसार जुनदेखि जुलाईसम्म थोक स्तरको व्यावसायिक मुद्रास्फीति शून्य दशमलव ४ प्रतिशतले बढेको छ । वार्षिक आधारमा उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) ५ दशमलव ४ प्रतिशतले बढेको छ ।
पीपीआईलाई उपभोक्ता तहमा देखिन सक्ने मुद्रास्फीतिको प्रारम्भिक सङ्केतका रूपमा हेरिन्छ । अमेरिकी उपभोक्ता मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क शुक्रबार सार्वजनिक हुने अपेक्षा गरिएको छ । पछिल्लो तथ्याङ्कलाई केपीएमजीकी प्रमुख अर्थशास्त्री डियान स्वङ्कले चिन्ताजनक भनेकी छिन् । उनका अनुसार मूल्यवृद्धि विशेष गरी डिजेल र तताउने इन्धनमा देखिएको छ, जसको प्रभाव ढिलोगरी अर्थतन्त्रका अन्य क्षेत्रमा पनि फैलिन सक्छ ।
मुद्रास्फीतिको जोखिमलाई ध्यानमा राख्दै अमेरिकी केन्द्रीय बैङ्क ‘फेडरल रिजर्भ’ (फेड) का अधिकारीहरूले आगामी साता हुने ब्याजदर सम्बन्धी बैठकमा पछिल्लो तथ्याङ्कलाई नजिकबाट हेर्नेछन् । फेडरल रिजर्भका गभर्नर क्रिस्टोफर वालरले गत साता मुद्रास्फीति अपेक्षाभन्दा बढी देखिएमा ब्याजदर बढाउने विकल्पमा विचार गर्न सकिने बताएका थिए ।
इरान युद्ध, युक्रेन युद्ध र जारी व्यापार युद्धले अमेरिकी अर्थतन्त्रमा पार्ने प्रभावबारे पर्याप्त अनिश्चितता रहेको पनि उनले भनेका छन् ।