साउदी अरब नेपालीहरूको प्रमुख रोजगार गन्तव्य मुलुक हो । साउदीमा करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष मात्रै १ लाख ४१ हजार नेपाली श्रम गरेर साउदी गएका छन् । यो गत वर्ष वैदेशिक रोजगारीमा जाने विदेशिने नेपालीको १९ प्रतिशत हो ।
हाल युएईपछि सबैभन्दा धेरै नेपाली कामका लागि साउदी पुग्ने गरेका छन् । तर त्यसरी साउदी पुग्ने नेपाली त्यहाँको कानुन बारे जानकार नहुँदा र हेलचेक्र्याइँ गर्दा जेल पर्ने गरेको तथ्य बाहिरिएको छ ।
साउदीस्थित नेपाली दूतावासले उपलब्ध गराएको तथ्याङ्क अनुसार हाल ५४४ जना नेपाली साउदीमा जेल जीवन बिताइरहेका छन् । यी मध्ये आधाभन्दा धेरै नेपाली मदिरा उत्पादन, सेवन तथा बिक्री वितरणमा संलग्न भएर जेल परेका छन् ।
मदिराजन्य कसुरमा मात्रै ३४५ नेपाली जेल परेका हुन् । ८४ नेपाली लागूपदार्थ ओसारपसारमा संलग्न भएकोमा जेल परेका छन् । यस्तै, ५३ जना चोरी, १६ जना तोडफोड र १५ जना घुस खोरीको अभियोगमा जेलमा छन् ।
१२ जना भने वेश्यावृत्तिमा संलग्न भएको र ७ जना विभिन्न कानुनहरू उलङ्घनको आरोपमा जेलमा छन् । हत्या अभियोगमा जेल पर्ने नेपालीको सङ्ख्या ४ छ भने अन्य आरोपमा ८ जना जेल जीवन बिताइरहेका छन् ।
दूतावासका अनुसार यी मध्ये ३४१ नेपालीलाई अदालतले फैसला सुनाइसकेको छ भने २०३ जनाको मुद्दा अदालती पक्रियामा छ । तथ्याङ्क हेर्दा अधिकांश नेपाली हेलचेक्र्याइँका कारण जेल परेको देखिन्छ ।
साउदीको कानुन निकै कडा मानिन्छ । नेपालमा सामान्य मानिएका कसुर पनि त्यहाँ कठोर हुने गर्छ । त्यसैले, साउदीमा रहेका नेपाली अझ जिम्मेवार बन्न जरुरी देखिन्छ ।