दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपाली गए वैदेशिक रोजगारीमा

आप्रवासन आप्रवासन

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४८३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौमा गरी १ लाख ३० हजार ४८३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् । साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका थिए ।

तर साउनको तुलनामा भदौमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । भदौमा ६० हजार ४२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ जना पुरुष र ८ हजार १९९ जना महिला छन् । तीमध्ये ३५ हजार ६२७ जनाले पहिलोपटक नयाँ श्रम स्वीकृति लिएका छन् भने २४ हजार ४१५ जनाले बिदामा फर्किएर पुनः श्रम स्वीकृति लिएका छन् ।

नेपाली श्रमिकको प्रमुख गन्तव्यका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो स्थानमा रहेको छ । भदौमा यूएईका लागि १५ हजार ५४२ पुरुष र २ हजार ९३५ महिला गरी १८ हजार ४७७ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै, कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१, साउदी अरेबियाका लागि ६ हजार ७८७ र कुवेतका लागि ३ हजार ८९८ जनाले श्रम स्वीकृति लिएका छन् ।

युरोपेली मुलुक रोमानियाका लागि १ हजार ७९३ तथा जापानका लागि १ हजार १३० र ओमानका लागि १ हजार ९५ जनाले श्रम स्वीकृति लिएका छन् । दक्षिण कोरियाका लागि सरकारी प्रक्रियामार्फत जाने ७८९ जनासहित कुल ९०३ जनाले श्रम स्वीकृति पाएका छन् । जिल्लागत विवरणअनुसार मधेस र कोशी प्रदेशका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढी देखिएको छ ।

देशभरमा सबैभन्दा धेरै धनुषाबाट ३ हजार १६ जना विदेशिएका छन् । यस्तै, झापाबाट २ हजार ७१६, मोरङबाट २ हजार ६९०, सिरहाबाट २ हजार ३४९, महोत्तरीबाट २ हजार २८१, सुनसरीबाट २ हजार २२६ र रुपन्देहीबाट २ हजार १० जनाले श्रम स्वीकृति लिएका छन् । हिमाली जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या भने न्यून छ । समीक्षा अवधिमा मनाङबाट १३, मुस्ताङबाट २३ र हुम्लाबाट ३७ जनाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष जनशक्तिको हिस्सा आधाभन्दा बढी रहेको छ । विभागका अनुसार भदौमा श्रम स्वीकृति लिनेमध्ये ५६.९ प्रतिशत अर्थात् ३४ हजार १६७ जना दक्ष श्रमिक छन् । यस्तै, १६ हजार ५८ जना अदक्ष, ९ हजार ४६६ जना अर्धदक्ष, २७१ जना व्यावसायिक र ८० जना उच्च दक्ष जनशक्ति रहेका छन् । नयाँ श्रम स्वीकृति लिनेहरूमध्ये २५ हजार ४१५ जनाले म्यानपावर कम्पनीमार्फत र ९ हजार २२४ जनाले व्यक्तिगत तवरबाट श्रम स्वीकृति लिएका छन् ।