प्रभु बैंकद्वारा ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक

आप्रवासन आप्रवासन

 

 प्रभु बैंक लिमिटेडले विदेशमा काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ ।

योजनामार्फत प्रवासी नेपालीलाई घर तथा जग्गा खरिदका लागि सहज, प्रतिस्पर्धी र सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

योजनाअन्तर्गत घर कर्जाका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ । यो सुविधा देशभरका ३०० वटा शाखामार्फत उपलब्ध हुने बैंकले जनाएको छ । योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत र जग्गा खरिदका लागि कर्जा लिन सकिनेछ ।

त्यस्तै, बढीमा दुई जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न औसत आधार दरमा थप १.५ प्रतिशत प्रतिवर्ष ब्याजदरमा शैक्षिक कर्जा सुविधा उपलब्ध गराइनेछ । शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । योजनाअन्तर्गत पहिलो वर्ष डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराइनेछ ।

बैंकका अनुसार नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । प्रवासी नेपालीबाट प्राप्त विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत प्रभावकारी रूपमा परिचालन गर्दै उनीहरूको दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले योजना ल्याइएको हो ।

योजनाले विदेशमा कार्यरत तथा बसोबास गर्ने नेपालीलाई आफ्नो र परिवारको भविष्यका लागि आवासीय सम्पत्ति निर्माण तथा खरिद गर्न आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने बैंकको अपेक्षा छ । साथै, विप्रेषणलाई औपचारिक बैंकिङ माध्यमबाट परिचालन गर्दै निक्षेप अभिवृद्धि, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह तथा दीर्घकालीन ग्राहक सम्बन्ध विस्तारमा योगदान पुग्ने बैंकले जनाएको छ।