जेलिन्स्कीको दाबी–'उत्तर कोरियाले रुसमा थप १० हजार सेना पठाउँदै छ'

आप्रवासन आप्रवासन

 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुसमा थप १० हजार उत्तर कोरियाली सैनिक पठाउने तयारी भइरहेको दाबी गरेका छन् । उनका अनुसार हाल ८ हजारभन्दा बढी उत्तर कोरियाली सैनिक रुसी भूमिमा रहेका छन् । जेलिन्स्कीले सोमबार सामाजिक सञ्जाल ‘एक्स’मा नयाँ प्राप्त सूचनालाई उद्धृत गर्दै थप उत्तर कोरियाली सैनिकलाई रुस पठाउनुअघि प्रशिक्षणका लागि छनोट गर्ने काम भइरहेको बताएका हुन् ।

उनले यसअघि अगस्टमा रुसको पक्षबाट युक्रेनविरुद्धको युद्धमा लड्न ५० हजारसम्म उत्तर कोरियाली सैनिक पठाउन सकिने दाबी गरेका थिए । साथै उनले दक्षिण कोरियालाई युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा सहयोग गर्न आग्रह गरेका थिए ।

सन् २०२४ देखि उत्तर कोरियाली सैनिकको संलग्नता

युक्रेन र दक्षिण कोरियाली अधिकारीहरूको आकलनअनुसार उत्तर कोरियाले सन् २०२४ देखि रुसलाई युक्रेन युद्धमा सहयोग गर्न करिब १४ हजारदेखि १५ हजार सैनिक पठाएको छ । तीमध्ये अधिकांश सैनिकलाई युक्रेनी सेनाको घुसपैठ रोक्न रुसको कुस्र्क क्षेत्रमा परिचालन गरिएको बताइएको छ । उत्तर कोरियाले रुसलाई ठूलो परिमाणमा तोप तथा मोर्टारका गोला, ब्यालेस्टिक क्षेप्यास्त्र, लामो दूरीका तोप प्रणाली र बहु–रकेट प्रक्षेपण प्रणालीसमेत उपलब्ध गराएको युक्रेनी तथा स्वतन्त्र आकलनहरूले देखाएका छन् ।

उत्तर कोरियाली युद्धबन्दीको विषयमा विवाद

जेलिन्स्कीको पछिल्लो भनाइ दक्षिण कोरिया र युक्रेनबिच उत्तर कोरियाली युद्धबन्दीको विषयमा विवाद भइरहेका बेला आएको हो । गत साता जेलिन्स्कीले युक्रेनले पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरिया पठाएको बताएका थिए । तर दक्षिण कोरियाले उक्त स्थानान्तरणलाई गोप्य राख्ने सहमति भएको भन्दै जेलिन्स्कीको सार्वजनिक घोषणाप्रति असन्तुष्टि जनाएको थियो । दक्षिण कोरियाले युक्रेनी राष्ट्रपतिको कार्यालयले यस्तो गोप्य सहमति नभएको भन्दै दिएको अभिव्यक्तिलाई समेत गलत भनेको छ ।