संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्रमाथि लगाएको प्रतिबन्ध सफल भएको बताएको छ ।
अमेरिकाले सेप्टेम्बरको सुरुमा इरानको सम्पूर्ण उड्डयन क्षेत्रमाथि प्रतिबन्ध लगाएको थियो । यो दबाबपूर्ण अभियान अन्तर्गत इरानले ‘आर्थिक श्वासरोध’ हुने दाबी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले गरेका थिए ।
वासिङ्टनले विदेशी कम्पनीहरूलाई सेप्टेम्बर २३ सम्म यो प्रतिबन्धलाई पालना गर्न समय दिएको थियो । त्यसपछि बेसेन्टले सबै इरानी एयरलाइन्सहरू ‘विश्वभरि बन्द हुने’ दाबी गरेका थिए ।
उनले भने, “यदि उनीहरू अवतरण गर्छन् भने, “तपाईँले उनीहरूलाई इन्धन नदिनुहोस्, अवतरण सेवा नदिनुहोस्, टिकट नबेच्नुहोस् । अन्यथा तपाईँ डलर प्रणालीबाट बाहिरिनुहुनेछ।”
अमेरिकी कदमलाई अवैध भन्दै तेहरानले सोमबार संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय न्यायालयमा उजुरी दिएको घोषणा गरेको छ।
तेहरानबाट ३० अन्तर्राष्ट्रिय गन्तव्यतर्फ उडान
इरानले भने तेहरानबाट मात्रै करिब ३० अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा जारी राखेको दाबी गरेको छ ।
‘ट्र्याकिङ वेबसाइट’ फ्लाइटरडार–२४ का अनुसार आइतबार तेहरान अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ४१ उडान उडे वा अवतरण गरेका थिए ।
प्रतिबन्ध लागू हुनुअघिका दुई दिनको दैनिक औसत ८० देखि ९० उडानको तुलनामा यो कम हो।
दुई मुख्य इरानी एयरलाइन्स इरान एयर र निजी स्वामित्वको महान् एयर प्रतिबन्धबाट सबैभन्दा बढी प्रभावित भएका बताइएको छ ।
आइतबार तेहरान विमानस्थलबाट उडेका २४ उडानमध्ये केवल पाँच महान् एयर र दुई इरान एयरद्वारा सञ्चालित थिए । प्रतिबन्धअघि प्रत्येकले करिब १० उडान भर्थे ।
यी आँकडाले बेसेन्टले भनेको ८० देखि ९० प्रतिशत उडान अवरुद्धता भएको भनेभन्दा बढी सङ्कट देखिन्छ भने तेहरान विमानस्थलले आइतबार ६० उडान सञ्चालन गरेको दाबीभन्दा यो निकै कम हो ।
इरानी राष्ट्रिय टेलिभिजनमा प्रसारित समाचारमा विमानस्थल निर्देशकलाई उद्धृत गर्दै भनिएको छ “करिब ३० वा त्योभन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यहरूमा अझै सेवा दिइँदै आएको छ।”
चीन, रुस र टर्कीद्वारा प्रतिबन्ध अस्वीकार
तेहरानको प्रमुख आर्थिक सहयोगी बेइजिङले अमेरिकी प्रतिबन्धलाई ‘अवैध र एकपक्षीय’ भन्दै यसलाई पालना गर्न पूर्ण रूपमा अस्वीकार गरेको छ । महान् एयरका उडानहरूले चिनियाँ विमानस्थलहरूमा सेवा जारी राखिरहेका छन् ।
रुस र पाकिस्तानका उडानहरू पनि जारी छन्, यद्यपि कुनै पनि देशले प्रतिबन्धबारे टिप्पणी गरेको छैन ।
महान् एयरलाइन्सका अनुसार महान् एयरले टर्कीका अधिकारीहरूको अनुरोधमा टर्कीका उडानहरू रोकेको छ ।
इरान एयरले भने इस्तानबुलमा दैनिक उडान जारी राखेको छ। साना इरानी ध्वजाबाहकहरूले पनि टर्कीका अन्य सहरहरूमा सेवा दिइरहेका छन्।
अर्मेनिया, अफगानिस्तान, बेलारुस र मलेसियामा प्रतिबन्ध अझै लागू भएको छैन । यी देशहरूमा मुख्य रूपमा साना इरानी एयरलाइन्सहरूद्वारा सेवा दिइन्छ ।
वासिङ्टनले प्रतिबन्ध पालना नगर्ने देशहरूविरुद्ध कुनै कारबाही गर्ने कि नगर्ने घोषणा गरेको छैन ।
खाडीमुलुक
युरोप, एसिया वा अफ्रिका पुग्न चाहने इरानी यात्रुहरूको प्रमुख केन्द्र संयुक्त अरब इमिरेट्सले आफ्नो क्षेत्रमा सबै इरानी उडानहरू ‘थप सूचना नआएसम्म’ का लागि निलम्बन गरेको छ ।
कुवेत नागरिक उड्डयन महानिर्देशनालयका एक स्रोतले सोमबार एएफपीलाई बताए अनुसार सात महिनाअघि युद्ध सुरु भएदेखि नै इरानी एयरलाइन्सहरूलाई कुवेत प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
अन्य खाडी देशहरूले कुनै घोषणा गरेका छैनन् तर उनीहरूका विमानस्थल वेबसाइटहरू अनुसार उडानहरू निलम्बन गरिएका देखिन्छन् ।
इरानको आईएसएनए समाचार एजेन्सीले विमानस्थल अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ, “इरानी उडानहरू अब अजरबैजान र जर्जिया तथा इराकमा जाने छैनन् । इराक भने प्रतिबन्धबाट छुट खोजिरहेको छ ।”
इराकी सरकारले शनिबार संयुक्त राज्य अमेरिकासँग इरानी एयरलाइन्सहरूमाथिको प्रतिबन्धबाट छुट पाउन वार्ता गरिरहेको बताएको छ। यसले बिरामी, विद्यार्थी र तीर्थयात्रीहरूको यात्रा प्रभावित पारेको इराकको दाबी छ ।
“इराकी सरकारले यी उपायहरूबाट केही इराकी विमानस्थलहरूलाई छुट दिन अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ता गरिरहेको छ,” इराकी प्रधानमन्त्रीको मिडिया कार्यालयले भनेको छ ।
“छुटले ‘चिकित्सा उपचार, शिक्षा, धार्मिक भ्रमण र नागरिकहरूको हित समावेश मानवीय कारण’ का लागि उडानहरू पुनः सुरु गर्न अनुमति दिनेछ,” कार्यालयले थप्यो।
इरानी एयरलाइन्सहरूले मुख्य रूपमा इराकी शिया तीर्थयात्रीहरूलाई इरानका पवित्र सहरहरूमा लैजान्छन् वा इराकका पवित्र स्थलहरूमा जाने इरानीहरूलाई सेवा दिन्छन्। यी उडानहरू इरानमा पढ्ने इराकी विद्यार्थी र त्यहाँ चिकित्सा उपचार खोज्ने बिरामीहरूलाई पनि सेवा दिन्छन् ।