राइनासका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आप्रवासन आप्रवासन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा मंगलबार मुद्दा दायर गरेको हो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन लेखापाल नवीन कुमार बराललाई १६ लाख ७२ हजार बिगो दाबी कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।  तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेलाई १८ लाख ३९ हजार २ सय ५६ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

वडा नं.१ का तत्कालीन वडा अध्यक्ष रमेश न्यौपानेलाई ८९ हजार १ सय ८५ बिगो दाबी गरेको छ भने  वडा नं. ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेललाई २ लाख ९९ हजार ६ सय ६२ रुपैयाँ बिगो,वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष जैमान गुरूङविरुद्ध १ लाख २४ हजार ८ सय ५९ रुपैयाँ , वडा नं. ५ का तत्कालीन वडा अध्यक्ष नन्द बहादुर कुमाललाई ८२ हजार ५० रुपैयाँ, वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष रूक बहादुर तामाङ गुरूङलाई २ लाख ३९ हजार १६ रुपैयाँ , वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष कृष्ण प्रसाद लामिछानेलाई १ लाख २१ हजार २ सय ९२ रुपैयाँ, वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष माधव प्रसाद पराजुलीलाई २ लाख ५३ हजार २ सय ८६ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत राइनास नगरपालिकाका सूचीकृत आर्थिक वर्ष २०७६/०७७ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट शर्तहरूसहित रू.१६ लाख ७२ हजार रुपैयाँ सशर्त अनुदान उपलब्ध गराएकोमा तत्कालीन प्रतिवादीहरूले सरकारी सम्पत्ति हिनामिना, दुरूपयोग हानिनोक्सानी गर्ने र आफूहरूले गैरकानुनी रूपमा लाभ लिएको अख्तियारको ठहर छ।