अपडेट : फ्लाइदुबईको जहाज अपहरण नभई पाइलटहरूबिचको कुटाकुट भएको दाबी

आप्रवासन आप्रवासन

 

दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको एक यात्रुवाही विमान दुई पाइलटहरूबिच ‘उग्र’ झडप भएपछि साउदी अरबतर्फ डाइभर्ट गरिएको स्रोतहरूले सीएनएनलाई बताएका छन्।

सीएनएनले विश्लेषण गरेको उडान ट्र्याकिङ डेटाअनुसार पूर्वीय समय (ईटी) अनुसार बिहानको १:२० बजे विमान महज दुई मिनेटभित्र ३४ हजार फिटको उचाइबाट १७ हजार ४ सय फिटले घटेर करिब १६ हजार ६ सय फिटमा झरेको थियो। त्यसपछि ईटी समयअनुसार बिहान १:३२ बजे विमानबाट आपत्कालीन सङ्केत पठाइएको थियो।

एक इजरायली अधिकारीले यो घटना अपहरण नभएको स्पष्ट पार्दै विमानभित्र चालक दलका कर्मचारीहरूबीचको आन्तरिक विवाद भएको आफूहरूले बुझेको जानकारी दिए।

आपत्कालीन सन्देश प्राप्त भएपछि इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीले उच्चस्तरीय सुरक्षा परामर्श गरेका थिए। इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ताले सीएनएनलाई दिएको जानकारीअनुसार आपत्कालीन सन्देश प्राप्त हुनासाथ इजरायली लडाकु विमानहरूलाई तयारी अवस्थामा राखिएको थियो।

के भएको थियो ?

विमानले बुधबार बिहान केही समय ‘७५००’ आपत्कालीन कोड प्रसारण गरेपछि विमान अपहरण भएको आशंका उत्पन्न भएको थियो । विमानमा २७ बालबालिकासहित १७४ जना यात्रु सवार थिए ।
विमान उडानका क्रममा म्यानुअल रूपमा उचाइ घटाउँदै बाटो परिवर्तन गरेर फर्किन थालेपछि विमानबाट ‘७५००’ कोड प्रसारण भएको थियो । अन्तर्राष्ट्रिय उड्डयनमा ‘७५००’ कोड विमान अपहरण वा अन्य गैरकानुनी हस्तक्षेपको संकेतका रूपमा प्रयोग हुन्छ । घटनापछि इजरायली लडाकु विमानहरू समेत आकाशमा परिचालन गरिएको थियो ।

केही समयसम्म इजरायलमा विमानको अवस्थालाई लिएर चिन्ता बढे पनि पछि सुरक्षा अधिकारीहरूले विमान सुरक्षित रहेको जानकारी दिएका थिए । विमानलाई साउदी अरबतर्फ डाइभर्ट गरिएको थियो र अन्ततः साउदी अरबको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गरेको बताइएको छ ।

विमानभित्र पाइलटहरूबिच विवाद भएपछि स्थिति असामान्य बनेको र त्यस क्रममा आपत्कालीन कोड सक्रिय भएको बताइएको छ । घटनाको थप विवरण र विवादको कारण भने तत्काल सार्वजनिक गरिएको छैन ।

घटनापछि सावधानीस्वरूप इजरायलको बेन गुरियन विमानस्थलबाट हुने उडानहरू केही समयका लागि रोकिएका थिए । विमानमा भएको घटनाबारे जानकारी पाएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले आकस्मिक सुरक्षा बैठकसमेत बोलाएका थिए ।

विमान सुरक्षित रूपमा साउदी अरबमा अवतरण गरेपछि भने प्रारम्भिक रूपमा देखिएको हाइज्याकको आशंका हटेको इजरायली सुरक्षा अधिकारीहरूले बताएका छन् । घटनाबारे सम्बन्धित अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् ।