सार्वजनिक क्षेत्रका कर्मचारीको तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा फ्रान्सभर हजारौँ कर्मचारी सडकमा उत्रिएका छन् ।
शिक्षक, स्वास्थ्यकर्मी, अग्निनियन्त्रकसहित सार्वजनिक क्षेत्रका कर्मचारीले बुधबार देशभर एकदिने हडताल र प्रदर्शन गरेका हुन् । यसैबीच, शिक्षा क्षेत्रमा सुधारको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच केही स्थानमा हिंसात्मक झडप भएको छ ।
ट्रेड युनियनहरूले देशभर करिब ३ लाख मानिस प्रदर्शनमा सहभागी भएको दाबी गरेका छन् । प्रहरीले भने राजधानी पेरिसमा करिब ३० हजार मानिस सहभागी भएको अनुमान गरेको छ । सार्वजनिक क्षेत्रका कर्मचारीले तलब वृद्धि, काम गर्ने वातावरण सुधार र सरकारले प्रस्ताव गरेको बजेट कटौती फिर्ता लिन माग गरेका छन् ।
सरकारले सन् २०२७ मा सरकारी कर्मचारीको आधारभूत तलब स्थिर राख्ने प्रस्ताव गरेको छ । यसबाट करिब २ अर्ब युरो (२.३ अर्ब अमेरिकी डलर) बचत गर्ने सरकारको योजना छ । तर, युनियनहरूले लगातार तलब स्थिर राख्दा कर्मचारीको क्रयशक्ति घटेको भन्दै त्यसको विरोध गरेका छन् ।
युनियनहरूले सरकारी कर्मचारीको तलबमा ६ प्रतिशत वृद्धि माग गरेका छन् । उनीहरूका अनुसार सन् २०२७ को प्रस्ताव कार्यान्वयन भए यो लगातार चौथो वर्ष सरकारी कर्मचारीको आधारभूत तलब नबढ्ने अवस्था हुनेछ । राष्ट्रपति इम्यानुएल म्याक्रोंको कार्यकालमा यस्तो तलब स्थिर राख्ने निर्णय आठौँपटक हुने युनियनहरूको भनाइ छ ।
‘यो कडा चेतावनी हो’
फ्रान्सको जनरल कन्फेडेरेसन अफ लेबरकी महासचिव सोफी बिनेटले प्रदर्शनलाई सरकारका लागि ‘कडा चेतावनी’ भनेकी छन् । ‘यो आक्रोश हराउनेवाला छैन । सरकारले बजेटबारे पुनर्विचार गर्नुपर्छ,’ उनी भन्छिन् ।
उनले सरकारले प्रस्तावित बजेट कटौती फिर्ता लिन ४८ घण्टाको समय दिएको र त्यसपछि आफ्नो युनियनले थप हडतालका कार्यक्रमबारे निर्णय गर्ने बताएकी छन् ।
शिक्षा मन्त्रालयका अनुसार हडतालमा शिक्षक तथा विद्यालयका अन्य कर्मचारीमध्ये ११ प्रतिशतभन्दा केही बढी सहभागी भएका थिए । अस्पतालमा कार्यरत कर्मचारीको सहभागिता भने अझ कम थियो । एक दिनको तलब कटौती हुने भएकाले पनि सहभागिता सीमित भएको हुनसक्ने अधिकारीहरूको भनाइ छ ।
यसैगरी, यस वर्षको भीषण डढेलोले स्रोतसाधनको अभाव देखाएको भन्दै व्यावसायिक अग्निनियन्त्रकहरू पनि प्रदर्शनमा सहभागी भएका छन् ।
४ सयभन्दा बढी विद्यालयमा प्रदर्शन
सार्वजनिक कर्मचारीको हडतालसँगै विद्यार्थी आन्दोलन पनि तीव्र भएको छ । फ्रान्सका ४०० भन्दा बढी विद्यालयमा विद्यार्थीले प्रदर्शन गरेका थिए । तीमध्ये करिब ४० विद्यालयमा प्रवेश अवरुद्ध गरिएको थियो भने अन्य ४४ विद्यालयमा अवरोध गर्ने प्रयास भएको अधिकारीहरूले बताएका छन् ।
विद्यार्थीहरूले कक्षाकोठामा विद्यार्थीको संख्या, शिक्षकको अभाव, विद्यालयको समयतालिका तथा गर्मीका कारण अत्यधिक तातिने कक्षाकोठालगायतका विषय उठाएका छन् । पेरिस वरपरको इले–द–फ्रान्स क्षेत्रमा सुरु भएको विद्यार्थी आन्दोलन अन्य शहरमा समेत फैलिएको थियो ।
तर केही स्थानमा प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीसँग झडप भएको थियो । विद्यार्थीहरूले फोहोरका डस्टबिनमा आगो लगाउनुका साथै प्रहरीतर्फ विभिन्न वस्तु फ्याँकेका थिए । प्रहरीले लाठी र अश्रुग्यास प्रयोग गरेको अधिकारीहरूले बताएका छन् ।
४४० जना पक्राउ
फ्रान्सका अधिकारीका अनुसार विद्यार्थी प्रदर्शनका क्रममा कम्तीमा ४४० जना पक्राउ परेका छन् । आन्तरिक मामिलामन्त्री लोरेन नुनेजले पक्राउ परेकामध्ये करिब दुईतिहाइलाई प्रहरी हिरासतमा राखिएको हुनसक्ने बताएका छन् ।
झडपमा १० जना विद्यार्थी तथा विद्यालय कर्मचारी घाइते भएका छन् । त्यस्तै, ४८ जना सुरक्षाकर्मी पनि घाइते भएको अधिकारीहरूले बताएका छन् । ‘हामीसँग अन्तिम संख्या आइसकेको छैन, तर मलाई भनिएअनुसार करिब दुईतिहाइलाई प्रहरी हिरासतमा राखिएको छ,’ नुनेजले भने । उनले प्रदर्शनका क्रममा भएको हिंसाको आलोचना गर्दै कुनै पनि अवस्थामा हिंसा उचित नहुने बताए । शिक्षामन्त्री एडुआर जिफ्रेले पनि विद्यार्थी आन्दोलनमा भएको हिंसाको निन्दा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले हिंसाविरुद्ध कानुनी प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।
‘कम प्रहरी, बढी पैसा’
पेरिसको गरिब क्षेत्रमध्ये एक मानिने सेन–साँ–दनीमा विद्यार्थी प्रदर्शनमा स्थानीय मेयर बाली बागायोको पनि सहभागी भए । उनले धनी क्षेत्रको तुलनामा गरिब क्षेत्रमा विद्यालयले कम स्रोत पाउने गरेको बताएका छन् । पेरिसको अरागो विद्यालयबाहिर केही विद्यार्थीले प्रवेशद्वार अवरुद्ध गर्न फोहोरका डब्बामाथि बसेका थिए । उनीहरूमध्ये केहीले अनुहार छोपेका थिए । त्यहाँ ‘म्याक्रों विस्फोट’ भन्ने नारासहितको पोस्टरसमेत देखिएको थियो ।
हेलेन–बुशे विद्यालयमा भने ‘कम प्रहरी, बढी पैसा’ लेखिएको ब्यानर राखिएको थियो । त्यहाँका अन्तिम वर्षका विद्यार्थी माएल ब्रेटनले विद्यालय तथा व्यापक शिक्षा प्रणालीमा बजेट अभाव रहेको र विद्यार्थी तथा सामाजिक आन्दोलनमाथि प्रहरी दमन बढेको आफूहरूको धारणा रहेको बताए ।
बजेट सार्वजनिक हुनुअघि दबाब
फ्रान्समा कर्मचारी र विद्यार्थीको आन्दोलन सरकारका लागि महत्वपूर्ण समयमा भएको छ । सरकारले अबको दुई दिनपछि सन् २०२७ को बजेटको मस्यौदा सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रपति निर्वाचन हुन करिब सात महिना बाँकी रहँदा भएको यो आन्दोलनले सरकारमाथि थप दबाब सिर्जना गरेको छ । सरकारले यसअघि अमेरिका–इजरायलको इरानविरुद्धको युद्धका कारण बढेको ऊर्जा मूल्यबाट प्रभावित परिवारलाई राहत दिन केही कार्यक्रम घोषणा गरिसकेको छ । तर ती कदमले म्याक्रों सरकारप्रतिको असन्तुष्टि शान्त पार्न सकेका छैनन् ।