३५ वर्ष पुरानो ऐन र ९ प्रकारका भिसा बदल्दै अध्यागमन

आप्रवासन आप्रवासन

अध्यागमन प्रणाली साढे तीन दशकदेखिको पञ्चायतकालीन पुरानो ऐन र सीमित भिसा वर्गको बन्धक बन्दा अन्तर्राष्ट्रिय खेलाडी, लगानीकर्तादेखि पर्यटकसम्मले सास्ती भोगिरहेका छन् ।

राज्य संयन्त्रले विदेशी नागरिकको आवागमन र गतिविधिलाई नियमन गर्नुको सट्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा नेपाली नागरिकलाई अनेक बहानामा रोक्ने र ‘सेटिङ’ मिलाएर अवैध असुली गर्ने काममा दशकौँ खेर फालेको स्वयं अध्यागमन प्रशासनले स्वीकार गरेको छ ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले नेपालको भिसा प्रणालीमा देखिएको चरम नीतिगत शून्यता, कानुनको अभाव र त्यसले निम्त्याएको विकृति रहेको स्वीकार गरे ।

पछिल्लो समय विदेशी नागरिकहरूले बिजनेस भिसा र डिपेन्डेन्ट भिसाको दुरुपयोग गरी गैरकानुनी रूपमा खुद्रा पसल सञ्चालन गरेको र अन्तर्राष्ट्रिय खेलाडीहरू पर्यटक भिसामा खेल्न बाध्य भएको विषय उठिरहेका बेला प्रवक्ता ढकालले विभागले समग्र भिसा प्रणालीलाई नै पुनर्संरचना गर्न लागेको बताएका हुन् ।

उनका अनुसार हाल कायम ९ प्रकारका परम्परागत भिसा खारेज गरी समयसापेक्ष १७ प्रकारका नयाँ भिसा प्रस्ताव गरिएको छ ।

नेपालमा विदेशीहरूको व्यवस्थापन र नियमन गर्ने मुख्य कानुन अध्यागमन ऐन २०४९ हो । समयको माग अनुसार उक्त ऐन संशोधन हुन नसक्दा नीतिगत छिद्रहरूको फाइदा तस्कर र बिचौलियाले उठाइरहेका छन् ।

‘हाम्रो अध्यागमन ऐन २०४९ भनेपछि ३४–३५ वर्ष पुरानो ऐन छ, र ३२ वर्षजति पुरानो नियमावली छ । यसबिच अध्यागमनलाई राज्यले प्राथमिकतामा पनि राखेन र ऐन संशोधनको आवश्यकता पनि देखिएन,’ ढकालले भने ।

अध्यागमन विभाग राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील अङ्ग भए पनि विगतमा यो नेपाली नागरिकलाई विदेश जान रोकेर पैसा असुल्ने ‘अखडा’ बनेको ढकालले स्वीकार गरे ।

‘हामी प्रस्थान केन्द्रित भयौँ, नेपाली नागरिकहरूलाई कसरी रोक्ने र त्यसपछि अलिकति कसरी त्यहाँ आर्थिक उपार्जन गर्न सकिन्छ भनेर कहिलेकाहीँ सेटिङमा भएका कुराहरू... हामी त्यसमा बढी केन्द्रित भयौँ । अध्यागमनलाई राष्ट्रिय सुरक्षाको हिसाबले यो अत्यन्तै महत्त्वपूर्ण अङ्ग हो, यसको सुदृढीकरण गर्नुपर्छ, विदेशी नागरिकहरूको अनुगमनमा जोड दिनुपर्छ भन्ने चेत नै ओझेलमा पर्‍यो,’ ढकालले भने ।

ढकालका अनुसार विगतको यो विकृत परिपाटीलाई चिर्न विभागले नीतिगत सुधारको थालनी गरिसकेको छ । ‘नेपाली नागरिकलाई सकेसम्म, बालिग मान्छेलाई स्वतन्त्र रूपमा आवतजावत गर्न दिनुपर्छ भनेर हामीले एक वर्ष अगाडि पर्यटक भिसामा प्रस्थान गर्नेसम्बन्धी कार्यविधि परिमार्जन गर्‍यौँ । अब हाम्रो मुख्य ध्यान विदेशी नागरिकहरूको आगमन, उद्देश्य र गतिविधि निगरानीमै केन्द्रित छ,’ ढकालले भने ।

हाल नेपालमा पर्यटक, अध्ययन, वैवाहिक, कूटनीतिक, सरकारी, नाता, गैरपर्यटक, कामदार (वर्किङ) र व्यवसायिक (बिजनेस) गरी ९ प्रकारका मात्र भिसा छन् । बदलिँदो विश्व परिवेशमा नेपाल आउने विदेशीहरूको बहुआयामिक आवश्यकतालाई यी ९ प्रकारका भिसाले सम्बोधन गर्न नसकेको विभागको ठहर छ ।

यसै समस्यालाई हल गर्न गृह मन्त्रालयमार्फत नयाँ अध्यागमन विधेयक अघि बढाइएको प्रवक्ता ढकालले जानकारी दिए । ‘हाम्रोमा ९ प्रकारका भिसाभन्दा अरू भिसाको कुनै व्यवस्थै थिएन । जसले गर्दा अनेक समस्या आइपरे । त्यसैले अहिलेको नयाँ अध्यागमन विधेयकमा हामीहरूले विभिन्न १७ प्रकारका भिसा प्रस्ताव गरेर मन्त्रालयमा पठाएका छौँ । त्यो अब मन्त्रिपरिषद् (क्याबिनेट) मा पुग्छ र संसद्मा दर्ता भएपछि ऐनको रूपमा आउँछ,’ ढकालले भने ।

प्रवक्ता ढकालका अनुसार यो विधेयक संसद्बाट पारित भएपछि नेपालमा आउने विदेशीहरूले आफूले गर्ने काम र उद्देश्य अनुसारको स्पष्ट भिसा पाउनेछन्, जसले गर्दा अहिले भइरहेको भिसाको दुरुपयोग र अवैध गतिविधि पूर्णतः रोकिनेछ ।

विगतमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ डिभिजन लिग खेलाउन अफ्रिकी खेलाडीहरू ल्याउँदा उनीहरू पर्यटक भिसामा आएको भन्दै अध्यागमनले मैदानमै छापा मारेर सोमालियन खेलाडीलाई नियन्त्रणमा लिएको थियो ।

यता नेपाल प्रिमियर लिग (एनपिएल) जस्ता ठुला प्रतियोगितामा करोडौँ खर्चेर अन्तर्राष्ट्रिय क्रिकेटर भित्र्याइँदै गर्दा भिसा नीतिको अन्योल कायमै छ ।

‘अहिलेको कानुन अनुसार नेपालमा खेल्ने खेलाडीहरूले ३ महिनाभन्दा बढी काम गर्ने भए वर्किङ (कामदार) भिसा लिनुपर्छ, ३ महिनाभन्दा कम अवधिको लागि भए अस्थायी कामदार भिसा लिनुपर्छ । तर, अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त खेलाडीहरूलाई यहाँ आएर वर्किङ भिसा लेउ भनेर भन्न पनि हामीलाई अलिकति अप्ठ्यारो भइराखेको छ,’ उनले भने ।

विश्वस्तरीय खेलाडीलाई साधारण कामदारसरह ‘वर्किङ भिसा’ भन्नु राज्यकै लागि लज्जास्पद विषय भएको औँल्याउँदै ढकालले नयाँ ऐनमा यसको समाधान खोजिएको बताए ।

‘त्यसैलाई लक्षित गरेर हामीले नयाँ विधेयकमा ‘स्पोट्र्स भिसा’को व्यवस्था गरेका छौँ । खेलाडीहरूको हकमा अब हामी त्यसलाई छिट्टै सम्बोधन गर्दैछौँ । योसँगै साहसिक खेल खेल्न आउने विदेशीहरूलाई पनि छुट्टै भिसाको प्रबन्ध गरिँदैछ,’ ढकालले भने ।

नेपालको हावापानी, प्राकृतिक सौन्दर्य र पौराणिक महत्त्वका कारण उपचार तथा ध्यान–साधनाका लागि आउने विदेशीहरूको संख्या बढ्दो छ । तर, कानुन नहुँदा उनीहरू पनि पर्यटक भिसाको भर पर्नुपरेको छ ।

‘अहिले नेपालमा वातावरण पनि राम्रो छ । स्वच्छ हावामा म अकुपञ्चर अथवा अरू कुनै प्राकृतिक चिकित्सा गर्छु र उपचार गर्छु भन्ने विषयमा संलग्न हुन चाहने विदेशी नागरिकहरूलाई पनि अहिले त्यस्तो व्यवस्था छैन । उही पर्यटक भिसामा आएर उपचार गर्नेबाहेक अर्को विकल्प छैन,’ ढकालले भने ।

यो रिक्ततालाई सम्बोधन गर्न नयाँ प्रस्तावित विधेयकमा दुई विशिष्ट भिसा समावेश गरिएको उनले खुलाए । ‘त्यस्ता व्यक्तिहरूलाई लक्षित गरेर हामीले मेडिकल भिसा उपलब्ध गराउन प्रस्ताव गरेका छौँ । त्यसैगरी नेपालमा लामो समय बस्छु, ध्यान र योग गर्छु भन्ने विदेशीहरूका लागि स्पिरिचुअल भिसाको पनि व्यवस्था गरेका छौँ,’ ढकालले भने ।