अफगानिस्तानको सीमा नाकामा आगलागी

आप्रवासन आप्रवासन

 

पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित इस्लाम काला सीमा नाकामा बुधबार साँझ भएको ठुलो आगलागीमा १८ वटा इन्धन ट्याङ्कर पूर्ण रूपमा जलेका छन् भने तीन वटा ट्याङ्करमा आंशिक क्षति पुगेको छ । अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले बिहीबार घटनाबारे जानकारी दिएको हो।

प्राधिकरणका अनुसार आगलागी सुरु भएपछि अग्निनियन्त्रण टोली तत्काल घटनास्थलमा पुगेको थियो। टोलीले आगो नियन्त्रणमा लिएर थप फैलिनबाट रोकेको अधिकारीहरूले बताएका छन् । आगलागीको कारण भने अझै खुल्न सकेको छैन र घटनाबारे अनुसन्धान भइरहेको छ।

घटनास्थलमा सुरक्षा तथा सम्बन्धित निकायका कर्मचारीहरू परिचालन भइरहेका छन्। उनीहरूले अवस्थाको निरन्तर निगरानी गर्नुका साथै आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन तथा मूल्याङ्कन गरिरहेको प्राधिकरणले जनाएको छ ।

हेरात सहरबाट करिब १२० किलोमिटर टाढा रहेको इस्लाम काला अफगानिस्तान र इरानबीचको प्रमुख स्थल सीमा नाका हो। यो नाका दुई देशबिचको महत्त्वपूर्ण व्यापारिक तथा पारवहन मार्गका रूपमा रहेको छ ।

सीमा नाकाबाट दैनिक हजारौँ यात्रु आवतजावत गर्नुका साथै ठुलो परिमाणमा वस्तु तथा सामान ओसारपसार हुने गरेको छ। त्यसैले इन्धन ट्याङ्करमा भएको आगलागीबाट भएको क्षतिको मूल्याङ्कनसँगै सीमा नाकाको नियमित गतिविधिबारे पनि सम्बन्धित निकायले निगरानी गरिरहेको छ।