चीनबाट प्रविधि आयातमा अंकुश लगाउँदै अमेरिका, तर पर्दैछ चर्को मूल्य

आप्रवासन आप्रवासन

 

अमेरिकाले चीनमाथिको प्रविधि र आपूर्ति शृंखलाको निर्भरता घटाउने अभियान तीव्र पारेको छ । राष्ट्रिय सुरक्षा, संवेदनशील डेटा संरक्षण र स्वदेशी उत्पादन बढाउने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चिनियाँ प्रविधिमाथि क्रमशः नयाँ प्रतिबन्ध थपिरहेको छ । तर चीनबाट अलग हुने यो प्रयास अमेरिकी उद्योगका लागि महँगो र कठिन बन्दै गएको छ । 

सान फ्रान्सिस्कोस्थित रोबोटिक्स कम्पनी ‘चेफ रोबोटिक्स’ यसको एउटा उदाहरण हो । कम्पनीका संस्थापक रजत भगेरीया अमेरिकामै रोबोट बनाउँछन्, तर रोबोटका केही महत्त्वपूर्ण पार्टपुर्जा चीनबाट ल्याउनुपर्छ । चीनले ठुलो परिमाणमा सस्तो र प्रतिस्पर्धी औद्योगिक सामग्री उत्पादन गर्ने भएकाले अमेरिकी कम्पनीहरू लामो समयदेखि चिनियाँ आपूर्ति शृंखलामा निर्भर छन् ।

भगेरीयाका लागि अहिले समस्या केवल लागतको होइन, विकल्पको पनि हो । उनले चीनमा बनिरहेका प्लास्टिकका रोबोटिक ग्राबर अमेरिकामै उत्पादन गर्ने प्रयास गरे । तर अमेरिकी कम्पनीहरूले आवश्यक परिमाणमा उत्पादन गर्न नसक्ने बताए । केही कम्पनीले उत्पादन गर्न सक्ने भए पनि लागत अत्यधिक हुने देखियो । 

उनका अनुसार केही समयअघिसम्म कम्पनीहरूले ‘सबैभन्दा राम्रो र सस्तो पार्टपुर्जा’ खोज्थे । अहिले लगानीकर्ता र ग्राहकले उल्टै ‘अझै विदेशी पार्टपुर्जा किन प्रयोग गरिरहेको ?’ भनेर प्रश्न गर्न थालेका छन् ।
चीनसँगको प्रविधि प्रतिस्पर्धा बढेसँगै अमेरिकी सरकारले ड्रोन, रोबोट, विद्युतीय सवारीसाधन, सञ्चार उपकरण र अन्य संवेदनशील प्रविधिमा नियन्त्रण कडा बनाएको छ । अमेरिकी अधिकारीहरूको तर्क छ कि चिनियाँ प्रविधिमा अत्यधिक निर्भर रहँदा राष्ट्रिय सुरक्षा र संवेदनशील सरकारी तथा उपभोक्ता डेटा जोखिममा पर्न सक्छ । साथै, यस्ता प्रतिबन्धले अमेरिकी उत्पादनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

तर यसको तत्कालीन असर भने उल्टो देखिन थालेको विज्ञहरू बताउँछन् । दशकौँसम्म उत्पादन विदेश सारिएका कारण अमेरिकासँग सबै प्रकारका इलेक्ट्रोनिक तथा औद्योगिक सामान ठूलो परिमाणमा उत्पादन गर्ने पर्याप्त क्षमता छैन । परिणामतः स्वदेशी उत्पादन सुरु गर्दा लागत बढ्ने, आपूर्ति ढिलो हुने र नयाँ प्रविधिमा पहुँच कठिन हुने अवस्था सिर्जना हुन सक्छ । 

एमआईटीको इन्डस्ट्रियल पर्फर्मेन्स सेन्टरका बेन आर्मस्ट्रङका अनुसार अमेरिकी डिजिटल जीवन नै विदेशी पार्टपुर्जा र विदेशमा जोडिएका सामानमा आधारित छ । त्यसलाई तत्काल बदल्न सम्भव छैन । अमेरिकाले आफ्नै उत्पादन क्षमता निर्माण गर्न समय र ठूलो लगानी आवश्यक पर्ने उनको भनाइ छ ।

रोबोटिक्स क्षेत्रमा यसको असर अझ स्पष्ट छ । ‘कोपिन कोर्परेसन’ले चीनबाट अमेरिकामा केही माइक्रो डिस्प्ले उत्पादन सार्न दुई वर्षभन्दा बढी समय लगाएको छ । कम्पनीका प्रमुख माइकल मरेका अनुसार अमेरिकामा उत्पादन गर्दा लागत २५ प्रतिशतसम्म बढी पर्न सक्छ । अमेरिकी उत्पादनको परिमाण चीनको तुलनामा निकै सानो भएकाले लागत घटाउन पनि कठिन छ । उनका अनुसार चीनले एक सातामा उत्पादन गर्ने माइक्रो डिस्प्लेको परिमाण अमेरिकाले एक वर्षमा पनि उत्पादन गर्न सक्दैन ।

दुर्लभ खनिजमा पनि समस्या उस्तै छ । ‘गोस्ट रोबोटिक्स’ले मोटर उत्पादन चीनबाट दक्षिण कोरिया सारेको छ । तर रोबोटका लागि आवश्यक नियोडिमियम चुम्बकको कच्चा पदार्थ अझै चीनबाट आउँछ । चीनको दुर्लभ खनिजमा बलियो नियन्त्रण भएकाले आपूर्ति शृंखला पूर्ण रूपमा चीनमुक्त बनाउनु छोटो अवधिमा अत्यन्त कठिन देखिन्छ ।

अमेरिकी रोबोटिक्स उद्योगका विज्ञ सामन फारिदका अनुसार अमेरिकी कम्पनीले पहिलो प्रोटोटाइप तयार पार्दै गर्दा चिनियाँ कम्पनी त्यही उत्पादनको तेस्रो संस्करणसम्म पुगिसकेको हुन सक्छ । त्यसैले प्रतिस्पर्धी चिनियाँ प्रविधिमा पहुँच अचानक रोकिए अमेरिकी उद्योगको विकास गति पनि सुस्त हुन सक्ने जोखिम छ । 

यसको असर विश्वविद्यालय र अनुसन्धान क्षेत्रमा पनि पर्न सक्छ । इलिनोइस विश्वविद्यालयका प्राध्यापक सायन मित्रका अनुसार केही पाठ्यक्रममा चिनियाँ रोबोटिक आर्म, ड्रोन, ह्युमानोइड रोबोट र अन्य उपकरण प्रयोग भइरहेका छन् । चिनियाँ ह्युमानोइडको विकल्प अमेरिकी उत्पादनबाट खोज्दा लागत १० गुणासम्म बढ्न सक्ने उनको अनुमान छ ।

उपभोक्ता क्षेत्रमा समेत असर पुग्ने सम्भावना छ । रोबोट भ्याकुम, स्वचालित पूल क्लिनर र लन मावरजस्ता उपकरणको ठूलो हिस्सा चीनमा उत्पादन हुन्छ । उत्पादन अमेरिकामा सार्न दीर्घकालीन रूपमा सम्भव भए पनि त्यसको मूल्य अमेरिकी उपभोक्ताले महँगो सामानका रूपमा तिर्नुपर्ने विज्ञहरूको भनाइ छ । 

यसरी हेर्दा चीनबाट प्रविधिमा दूरी बनाउने अमेरिकी रणनीति राष्ट्रिय सुरक्षाका दृष्टिले दीर्घकालीन लगानी हुन सक्छ । तर छोटो अवधिमा यसले अमेरिकी उद्योगलाई महँगो उत्पादन, आपूर्ति अभाव र प्रतिस्पर्धात्मक क्षमतामा दबाब दिने देखिन्छ । खास प्रश्न यही हो कि अमेरिकाले अहिले चुकाउने आर्थिक पीडाले भविष्यमा पर्याप्त स्वदेशी प्रविधि र आपूर्ति शृंखला निर्माण गर्न सक्छ कि सक्दैन ?