ट्रम्प, अपराध र भ्रष्टाचारको छायामा ब्राजिलको राष्ट्रपतीय चुनाव

आप्रवासन आप्रवासन

ब्राजिलमा आइतबार हुने राष्ट्रपतीय निर्वाचन केवल राष्ट्रपति छान्ने चुनावमा सीमित छैन । भ्रष्टाचारका नयाँ–पुराना काण्ड, बढ्दो अपराध, महँगी, राजनीतिक ध्रुवीकरण र मतदातामा देखिएको निराशाले विश्वकै ठुलो लोकतान्त्रिक मुलुकमध्ये एक ब्राजिलको चुनावलाई निर्णायक मोडमा पुर्‍याएको छ । 

करिब २१ करोड जनसंख्या भएको ब्राजिलमा वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका रूपमा अगाडि छन् । फ्लाभियो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा हुन् । उनका पिता अहिले जेल सजाय भोगिरहेका छन् र स्वास्थ्यका कारण मानवीय आधारमा घरमै नजरबन्द छन् । 

दुवै उम्मेदवारले ब्राजिलको भविष्यका लागि फरक राजनीतिक बाटो प्रस्तुत गरेका छन् । लुला बहुपक्षीय विश्व व्यवस्था, सामाजिक कार्यक्रम र ब्राजिलको सार्वभौमिकतामा जोड दिइरहेका छन् भने फ्लाभियो अपराध नियन्त्रण, कडा सुरक्षा नीति र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजिकको सम्बन्धको पक्षमा देखिएका छन् । 

अमेरिकी राजनीतिसँग ब्राजिलको चुनावको सम्बन्ध पनि यसपटक असाधारण रूपमा बलियो बनेको छ । चुनावी परिणामले ल्याटिन अमेरिकामा पछिल्लो समय बढिरहेको दक्षिणपन्थी लहरलाई थप बल दिने वा लुलाको नेतृत्वमा ब्राजिलले स्वतन्त्र र बहुध्रुवीय विदेश नीति कायम राख्ने भन्ने प्रश्नको समेत जवाफ दिनेछ । 

लुलाको चौथो कार्यकालको प्रयास

८० वर्षीय लुला चौथोपटक ब्राजिलको राष्ट्रपति बन्ने प्रयासमा छन् । उनले पहिलोपटक सन् २००३ देखि २०१० सम्म दुई कार्यकाल राष्ट्रपति बनेर शासन गरेका थिए । त्यसबेला आर्थिक वृद्धि, गरिबी न्यूनीकरण र सामाजिक गतिशीलताका कारण उनको लोकप्रियता उच्च थियो । तर त्यसपछि उनको राजनीतिक यात्रा नाटकीय बन्यो । भ्रष्टाचार मुद्दामा उनी ५८० दिन जेल बसे । पछि ब्राजिलको सर्वोच्च अदालतले ती फैसला खारेज गर्दै उनको राजनीतिक अधिकार पुनःस्थापित गर्‍यो । त्यसपछि उनले सन् २०२२ को निर्वाचनमा तत्कालीन राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै पुनः सत्ता हात पारे । 

यता जायरमाथि सन् २०२२ को निर्वाचन परिणाम उल्ट्याउन सैन्य विद्रोहको प्रयास गरेको अभियोगमा २७ वर्षको सजाय भएको छ । उनी चुनाव लड्न प्रतिबन्धित भएपछि उनको राजनीतिक विरासतलाई फ्लाभियोले बढाइरहेका छन् । 

लुला र फ्लाभियोबिचको प्रतिस्पर्धाले ब्राजिलको पुरानो वाम–दक्षिण ध्रुवीकरणलाई फेरि सक्रिय बनाएको छ । तर यसपटक विगतका चुनावजस्तो मतदातामा उत्साह भने देखिएको छैन । 

चुनावमा ट्रम्पको छाया

ब्राजिलको चुनावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रभाव असामान्य रूपमा देखिएको छ । ट्रम्प र लुलाबिचको सम्बन्ध पछिल्ला वर्षमा व्यापार र राजनीतिक मुद्दामा तनावपूर्ण बन्दै आएको छ ।
सन् २०२५ मा ट्रम्प प्रशासनले ब्राजिलका विभिन्न वस्तुमा अतिरिक्त कर लगाएको थियो । त्यसको कारणका रूपमा ब्राजिलमा जायर बोल्सोनारोमाथि भइरहेको कारबाहीलाई समेत अमेरिकी प्रशासनले उल्लेख गरेको थियो । पछि तीमध्ये केही शुल्क हटाइए पनि दुई देशबिचको व्यापार तनाव समाप्त भएन । 

यस वर्ष पनि अमेरिकाले केही ब्राजिलियन वस्तुमा नयाँ शुल्क लगाएको छ । लुलाले त्यसको विरोध गर्दै आवश्यक परे अमेरिकाविरुद्ध प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएका छन् । यद्यपि सेप्टेम्बरमा उनले वासिङ्टनसँग वार्ता भइरहेकाले तत्काल प्रतिकार नगर्ने संकेत दिएका थिए । 

लुलाले अमेरिकी दबाबलाई चुनावी मुद्दा बनाएका छन् । उनको तर्क छः ब्राजिल कुनै पनि शक्तिको खेलमैदान होइन र देशको राजनीतिक निर्णय बाह्य शक्तिको हस्तक्षेपबाट प्रभावित हुनु हुँदैन । उनले संकेत फ्लाभियो र उनका समर्थकतर्फ पनि हो, जो ट्रम्पसँग नजिक देखिन्छन् । 

यसरी ट्रम्पले ब्राजिलको चुनावमा प्रत्यक्ष उम्मेदवार नभए पनि एउटा महत्त्वपूर्ण राजनीतिक पात्रको भूमिका खेलेका छन् । राजनीतिक विश्लेषक ब्रायन विन्टरका अनुसार ट्रम्पका व्यापारिक र राजनीतिक हस्तक्षेपले कतिपय अवस्थामा लुलालाई नै फाइदा पुर्‍याएको छ । 

फ्लाभियोको अमेरिकी र दक्षिणपन्थी गठजोड

फ्लाभियो बोल्सोनारोले भने ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईजस्ता दक्षिणपन्थी नेतासँग सम्बन्ध विस्तार गरेका छन् । उनले मे महिनामा ह्वाइट हाउस पुगेर ट्रम्पसँग संगठित अपराध, अमेरिकी कर र महत्त्वपूर्ण खनिजलगायत विषयमा छलफल गरेका थिए । त्यसपछि उनले अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसँग पनि भेट गरेका थिए । 

नेतन्याहुले जुलाईमा फ्लाभियोको उम्मेदवारीलाई भिडियो सन्देशमार्फत समर्थन गरेका थिए । अर्जेन्टिनाका राष्ट्रपति मिलेई भने ब्राजिल नै पुगेर उनको पक्षमा खुलेर उभिए । यदि फ्लाभियो विजयी भएमा ल्याटिन अमेरिकामा देखिएको दक्षिणपन्थी राजनीतिक परिवर्तन थप बलियो हुने विश्लेषण छ । पछिल्ला वर्षमा कोलम्बिया र पेरूलगायत देशमा पनि दक्षिणपन्थी शक्तिहरू बलियो भएका छन् । 

अपराध चुनावको मुख्य मुद्दा

ब्राजिलियन मतदाताका लागि विदेश नीति वा वैचारिक ध्रुवीकरणभन्दा पनि दैनिक जीवनसँग जोडिएको अपराध र सुरक्षा ठुलो मुद्दा बनेको छ । डकैती, जबर्जस्ती असुली, मोबाइल चोरी र संगठित अपराधले धेरै ब्राजिलियनको दैनिक जीवन प्रभावित पारिरहेको छ । यद्यपि पछिल्लो दशकमा हत्या दर घटेको छ, नागरिकमा असुरक्षाको भावना अझै बलियो छ । 

फ्लाभियोले यही असुरक्षालाई आफ्नो चुनावी अभियानको केन्द्र बनाएका छन् । उनले ब्राजिलका प्रमुख आपराधिक समूहलाई आतंकवादी संगठन घोषणा गर्नुपर्ने, नयाँ संघीय जेल निर्माण गर्नुपर्ने र आपराधिक जिम्मेवारीको उमेर १६ वर्षमा झार्नुपर्ने प्रस्ताव गरेका छन् । उनकै पहलमा अमेरिकाले ब्राजिलका दुई शक्तिशाली आपराधिक संगठन (पीसीसी र सीभी)लाई आतंकवादी संगठनका रूपमा वर्गीकरण गरेको थियो । तर लुला सरकार यस कदमको विरोधमा छ । आतंकवादसम्बन्धी कानुन आपराधिक समूहविरुद्ध प्रयोग गर्दा भविष्यमा विदेशी हस्तक्षेपको बाटो खुल्न सक्ने उसको तर्क छ । 

महँगीले लुलालाई चुनौती

अपराधपछि मतदाताको अर्को प्रमुख चिन्ता अर्थतन्त्र र जीवनयापनको लागत हो । ब्राजिलमा बेरोजगारी दर तुलनात्मक रूपमा कम छ र मुद्रास्फीति पनि नियन्त्रणमा आउने संकेत देखिए पनि आम नागरिकले आफ्नो आर्थिक अवस्था सुधारिएको महसुस गरेका छैनन् । 

राजनीतिक विश्लेषक ब्रायन विन्टरका अनुसार तथ्यांकले अर्थतन्त्र धेरै खराब अवस्थामा नरहेको देखाए पनि मानिसहरूलाई आफ्नो तलबले पहिले जति सामान किन्न नसक्ने अनुभव भइरहेको छ । यो लुलाका लागि चुनौती हो । उनको राजनीतिक पहिचान नै गरिबी न्यूनीकरण र सामाजिक गतिशीलतासँग जोडिएको छ । पहिलो दुई कार्यकालमा आर्थिक वृद्धिले ठुलो संख्यामा नागरिकलाई मध्यम वर्गतर्फ उकासेको थियो । अहिले त्यस्तै परिवर्तन व्यापक रूपमा महसुस हुन नसकेको विश्लेषण छ । 

फ्लाभियोलाई आफ्नै पहिचान बनाउने चुनौती

फ्लाभियोको समस्या अर्कै छ । उनी आफ्ना पिताको राजनीतिक विरासतमा निर्भर छन् तर आफूलाई जायर बोल्सोनारोको प्रतिलिपि मात्र नभएको देखाउनुपर्ने चुनौती पनि छ । विश्लेषकहरूका अनुसार फ्लाभियो परिवारका अन्य सदस्यको तुलनामा केही मध्यमार्गी देखिन्छन् । यसले उनलाई मध्यम मतदातातर्फ आकर्षित गर्न सक्छ । तर यही कारणले कट्टर दक्षिणपन्थी मतदातामा उनका पिताले जस्तो उत्साह पैदा गर्न कठिन भइरहेको छ । 

महिला मतदाता पनि उनको कमजोर पक्षमध्ये एक मानिएको छ । ब्राजिलमा महिला मतदाताको ठुलो हिस्सा दक्षिणपन्थी राजनीतिक अभियानबाट अझै पूर्ण रूपमा आकर्षित हुन सकेको छैन । धर्म पनि चुनावी राजनीतिमा महत्त्वपूर्ण छ । क्याथोलिक र इभान्जेलिकल दुवै समुदाय राजनीतिक रूपमा प्रभावशाली छन् । हालका सर्वेक्षणमा फ्लाभियो इभान्जेलिकल मतदातामाझ लुलाभन्दा अगाडि छन् भने क्याथोलिक मतदातामा लुलाको अग्रता देखिन्छ । 

भ्रष्टाचारले दुवै पक्षलाई घेर्दै

ब्राजिलको राजनीतिमा भ्रष्टाचार नयाँ विषय होइन, तर यसपटक यसको प्रभाव अझ फरक छ । मतदाताले भ्रष्टाचारलाई कुनै एउटा राजनीतिक दल वा विचारधारासँग मात्र जोड्न छाडेका छन् । यसको पछिल्लो उदाहरण बांको मास्टर बैंकसँग जोडिएको काण्ड हो । बैंकका पूर्वप्रमुख ड्यानियल भोर्कारोको राजनीतिक, वित्तीय र न्यायिक क्षेत्रका व्यक्तिहरूसँगको सम्बन्धबारे अनुसन्धान भइरहेपछि यो विषय राष्ट्रिय राजनीतिमा ठुलो मुद्दा बनेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे दे मोरेस पनि विवादको केन्द्रमा आएका छन् । बोल्सोनारो समर्थकहरूले उनलाई लामो समयदेखि लुलाको पक्षधरका रूपमा आरोप लगाउँदै आएका छन् । भोर्कारोको बैंकलाई संकटबाट जोगाउने कानुनी प्रयासमा दे मोरेसको संलग्नता थियो कि थिएन भन्ने प्रश्न उठेको छ । उनकी पत्नीको कानुनी फर्मले बैंकसँग तीन वर्षमा करिब १३१ मिलियन ब्राजिलियन रियालको सम्झौता गरेको विषय पनि विवादमा आएको छ । दे मोरेसले भने कुनै गलत काम नगरेको बताएका छन् । 

काण्ड यतिमै रोकिएन । अनुसन्धानले फ्लाभियोको चुनावी अभियानसम्म यसको सम्बन्ध देखाएको छ । भोर्कारोले जायर बोल्सोनारोमाथि बनेको ‘डार्क हर्स’ फिल्मका लागि उपलब्ध गराएको रकमसँग सम्बन्धित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण आरोपमा फ्लाभियोमाथि पनि अनुसन्धान भइरहेको छ । उनले भने आरोप अस्वीकार गरेका छन् । 

‘उदासीन ध्रुवीकरण’को चुनाव

यसपटक ब्राजिलमा राजनीतिक ध्रुवीकरण त कायमै छ, तर त्यसमा विगतको जस्तो उत्साह छैन । राजनीतिशास्त्री फेलिपे नुनेजका अनुसार ध्रुवीकरणले अझै चुनावलाई व्यवस्थित गरिरहेको भए पनि यसले मतदातालाई पहिलेको जस्तो तीव्र रूपमा सक्रिय बनाउन सकेको छैन । अर्का विश्लेषक विन्टरले यस अवस्थालाई ‘उदासीन ध्रुवीकरण’ भनेका छन् । 

अर्थात् ब्राजिलियनहरू अझै आफ्नो राजनीतिक ‘टिम’प्रति प्रतिबद्ध छन्, तर त्यसप्रति उत्साह घटेको छ । यही कारण भ्रष्टाचारका काण्डले कुनै एक पक्षलाई मात्र फाइदा पुर्‍याउनुको सट्टा सम्पूर्ण राजनीतिक प्रणालीप्रति वितृष्णा बढाउने जोखिम देखिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल ब्राजिलका कार्यकारी निर्देशक ब्रुनो ब्रान्डाओका अनुसार समस्या यही हो । यहाँ एक पक्षले अर्को पक्षको भ्रष्टाचार मात्र देख्छ र आफ्नै राजनीतिक समूहभित्रको भ्रष्टाचारलाई बेवास्ता गर्छ । यस्तो ध्रुवीकरणले दीर्घकालीन जवाफदेहिता कमजोर बनाउने उनको तर्क छ ।

यस निर्वाचनमा राष्ट्रपति मात्र चुनिँदै छैनन् । संसद्का लागि पनि निर्वाचन हुँदैछ । पछिल्ला राजनीतिक संकटका कारण राष्ट्रपतिको शक्ति कमजोर हुँदै संसद्ले बजेट र खर्चमाथि आफ्नो प्रभाव बढाउँदै गएको छ । त्यसैले आगामी राष्ट्रपतिले संसद्मा कस्तो समर्थन पाउँछन् भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ ।