भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारकाे आरोप, अनुसन्धान सुरु

आप्रवासन आप्रवासन

भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँ दिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । मतदाता नामावलीको व्यापक पुनरवलोकनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै अनियमितताको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि आन्दोलन गरिरहेका छन् ।

निर्वाचन आयोगले मतदाता सूचीमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ । आयोगका प्रमुख कुमारले भने यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । शनिबार नयाँ दिल्लीस्थित सरकारद्वारा तोकिएको प्रदर्शनस्थल जन्तर मन्तर आसपास प्रहरीले दर्जनौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा केही महिला पत्रकारले प्रहरी अधिकारीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका हुन् ।

दिल्ली प्रहरीले विज्ञप्ति जारी गर्दै तीन महिला पत्रकारबाट यौन दुव्र्यवहारको उजुरी प्राप्त भएको पुष्टि गरेको छ । प्रहरीले घटनाबारे निष्पक्ष र तटस्थ छानबिन गरिने जनाएको छ सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा एक उजुरीकर्ताले एक प्रहरी अधिकारीले आफूलाई धकेल्नुका साथै अनुचित रूपमा छोएको आरोप लगाएकी छन् ।

राजधानीमा आइतबार पनि विरोध प्रदर्शन जारी रहने कार्यक्रम छ । आन्दोलनमा वामपन्थी समूहहरू र ‘कक्रोच जनता पार्टी’ (सिजेपी) का समर्थकहरू पनि सहभागी हुँदैछन् । व्यङ्ग्यात्मक अनलाइन अभियानका रूपमा स्थापना भएको सिजेपीले मे महिनामा तत्कालीन शिक्षामन्त्रीलाई पदबाट हटाउने अभियान सञ्चालन गरेको थियो ।

सिजेपीका प्रमुख अभिजित दिपकेले शनिबार प्रहरीको धरपकडको आलोचना गर्दै आरोपित प्रहरी अधिकारीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । वामपन्थी विद्यार्थी नेतृ नेहा बोराले प्रदर्शनकारीहरूलाई नयाँदिल्लीको इन्डिया गेटसम्म मार्च गर्न आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत “सडकदेखि आन्दोलनसम्म महिलाहरू सुरक्षित छैनन्” भन्दै सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । विपक्षी दलहरूले निर्वाचन आयोग प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को प्रभावमा काम गरिरहेको आरोप लगाएका छन् ।

उनीहरूले मङ्गलबार निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने र त्यसपछि देशभर ‘लोकतन्त्र बचाउ’ अभियानअन्तर्गत विरोध कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । यसैबिच, सिजेपीले आगामी १० अक्टोबरमा नयाँ दिल्लीमा ‘युवा भारतीयहरूको व्यापक परिचालन’का लागि आह्वान गरेको छ ।