विभिन्न सञ्चारमाध्यमका अनुसार ती पाइलट ओमानी नागरिक हमाम अल-हम्मामी भएको खुलेको छ।
इजरायलतर्फ गइरहेको उडानका क्याप्टेनमाथि आक्रमण गरेको आरोप लागेका फ्लाई दुबईका को-पाइलट (सह-चालक) एक ओमानी नागरिक भएको खुलेको छ।
सञ्चारमाध्यमका अनुसार, उग्रवादी विचार राखेको आशङ्कामा उनलाई यसअघि आफ्नै देशमा उडान भर्न रोक लगाइएको थियो। ती पाइलटको पहिचान वा उनको विचारबारे कुनै आधिकारिक पुष्टि भने भएको छैन।
संयुक्त अरब इमिरेट्स (यूएई) ले शनिबार उडान नम्बर एफजेड १०७३ मा बुधबार भएको घटनालाई एउटा ‘आतङ्कवादी कारबाही’ को प्रयास भनेको छ। यूएईका अनुसार ती को-पाइलटले भारतीय नागरिक क्याप्टेन स्मित मच्छारमाथि आपत्कालीन बञ्चरोले आक्रमण गरी विमानलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरेका थिए।
तर अनुसन्धानकर्ताहरूले आक्रमणको उद्देश्य पत्ता लगाउन र यसमा अन्य कसैको संलग्नता भए/नभएको यकिन गर्न अझै काम गरिरहेका छन्। यस घटनाले पाइलटहरूको पृष्ठभूमि जाँच र उड्डयन सुरक्षाबारे चिन्ता बढाएको छ।
अहिलेसम्म खुलेका तथ्यहरू यसप्रकार छन्:
१७४ जना यात्रु बोकेको दुबई-तेल अभिभ उडानका क्याप्टेनमाथि आक्रमण गरेको आशंका गरिएका ती को-पाइलट ओमानी नागरिक हमाम अल-हम्मामी हुन्। यस घटनाबारे जानकार एक खाडी कूटनीतिज्ञ र एक पश्चिमी कूटनीतिज्ञसहित तीन जनाले एपी समाचार एजेन्सीलाई यो जानकारी दिएका हुन्।
सञ्चारमाध्यमसँग बोल्ने अधिकार नभएका कारण उनीहरू सबैले नाम नखुलाउने सर्तमा कुराकानी गरेका थिए। ती खाडी कूटनीतिज्ञका अनुसार उनले ‘एक्लो आक्रमणकारी’ को रूपमा काम गरेका हुन् वा कुनै उग्रवादी समूहसँग उनको सम्बन्ध छ भन्नेबारे अनुसन्धान भइरहेको छ।
अमेरिकी सञ्चारमाध्यम सिएनएनले एक स्रोत र इजरायली अधिकारीलाई उद्धृत गर्दै अल-हम्मामी ओमानी नागरिक भएको जनाएको छ। उनी सिरियाली आमाको गर्भबाट यूएईमा जन्मिएका थिए र उनले इमिरेट्समा धेरै वर्ष बिताएका थिए।
उनको विगतको उड्डयन करियर र दुबईस्थित यस सस्तो वायुसेवा कम्पनीमा आबद्ध हुनुअघि नै कुनै चेतावनीका सङ्केतहरू देखिएका थिए वा थिएनन् भन्नेबारे प्रश्नहरू उब्जिएका छन्।
द वाल स्ट्रिट जर्नलले शुक्रबार अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै ओमानी अधिकारीहरूले ती आरोपित को-पाइलटलाई यसअघि नै देशमा उडान भर्न रोक लगाएको जनाएको छ। उनीसँग उग्रवादी विचारहरू रहेको आशङ्कामा यस्तो रोक लगाइएको थियो।
यद्यपि, ती कथित विचारहरू के थिए वा ओमानले आफ्नो आशङ्काबारे अन्य देश वा वायुसेवा कम्पनीहरूलाई जानकारी गराएको थियो वा थिएन भन्ने कुरा अझै अस्पष्ट छ।
सीएनएनले छुट्टै रूपमा एक क्षेत्रीय कूटनीतिक स्रोतलाई उद्धृत गर्दै यस्तै आशङ्काका कारण अल-हम्मामीलाई उडान तालिमबाट हटाइएको र त्यसपछि अर्को पदमा सारिएको उल्लेख गरेको छ।
उक्त अमेरिकी नेटवर्कले अल-हम्मामीको नाममा रहेको लिंक्डइन प्रोफाइलमा उल्लेख भएअनुसार उनले सन् २०२५ को फेब्रुअरीमा छाड्नुअघि ओमान एयरमा सात वर्ष बिताएका थिए। प्रोफाइलका अनुसार उनी सन् २०२५ को जुनमा रोयल एयर मारोकमा आबद्ध भए र सन् २०२६ को जनवरीमा त्यहाँबाट निस्किए।
अल-हम्मामीले बेलायतको एउटा विश्वविद्यालयमा पढेको कुरा पनि अहिले पुष्टि भएको छ।
बकिंघमशायर न्यु युनिभर्सिटीका प्रवक्ताले प्रेस एसोसिएसनलाई दिएको विज्ञप्तिमा भनेका छन्, ‘यस घटनामा संलग्न घाइते पाइलट, चालक दल र यात्रुहरूप्रति हाम्रो सहानुभूति छ।’
‘हमाम अल-हम्मामीले यसअघि उड्डयन व्यवस्थापनमा दूर-शिक्षा कोर्ष पूरा गरेका थिए। उनले यस विश्वविद्यालयमा कुनै पनि पाइलट तालिम लिएका थिएनन्।’
फ्लाइटराडार२४ का अनुसार, बुधबार बिहान ७:०५ बजे (०३:०५ जिएमटी) उडान एफजेड १०७३ दुबईबाट तेल अभिभका लागि प्रस्थान गर्दै ३४,००० फिट (१०,००० मिटरभन्दा बढी) को उचाइमा पुगेको थियो। दुई घण्टाभन्दा केही बढी समयपछि यो विमान अचानक तल झर्न थाल्यो र एकपटक तल झरेर फेरि माथि उठ्दै पुनः तल खस्यो।
उडान ट्र्याक गर्ने तथ्यांकले विमान करिब दुई मिनेटमै १७,००० फिटभन्दा बढी तल खसेको देखाएको छ। त्यसपछि विमान फेरि माथि उठ्यो र पुनः तल झर्यो।
यसैबिच, ककपिटभित्र दुई पाइलटबीच झगडा सुरु भइसकेको थियो। ती को-पाइलटले विमानका भारतीय क्याप्टेन स्मित मच्छारलाई हतियार प्रहार गरी आक्रमण गरेका थिए।
विमान तल झर्दै गर्दा आफूलाई ककपिटको भुइँमा गम्भीर घाइते अवस्थामा पाएको कुरा मच्छारले पछि वर्णन गरेका छन्।
अबुधाबीको एउटा अस्पतालबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्दै उनले भने, ‘जब म ढलेको थिएँ, मैले विमान तल खसिरहेको महसुस गर्न सक्थेँ। केही गर्ने यो नै अन्तिम मौका हो भन्ने मलाई थाहा थियो।’
उनले भने, ‘विमान तल खसिरहेको छ भन्ने मलाई थाहा थियो... म भुइँमा लडिसकेको थिएँ। ढोका त्यहीँ छ, त्यसलाई जसरी पनि खोल्नुपर्छ भनेर मैले आफूलाई सम्झाएँ। मैले ढोका खोल्न सफल भएँ र मानिसहरू भित्र पसे।’
यात्रु र चालक दलका सदस्यहरू क्याबिनभित्र पसेर को-पाइलटलाई नियन्त्रणमा लिए। अन्ततः विमान करिब १५,००० फिटको उचाइमा सन्तुलित भयो। त्यसपछि गैरकानुनी हस्तक्षेपको संकेत दिन यसको ट्रान्सपोन्डरलाई कोड ७५०० मा स्विच गरियो।
विमानमा रहेका दुई जना रिजर्भ पाइलटले विमानको नियन्त्रण लिए र साउदी अरबको उत्तरपश्चिमी शहर ताबुकमा अवतरण गराए। स्थानीय समयअनुसार बिहान ९:४५ बजे (०६:४५ जिएमटी) विमान सुरक्षित रूपमा अवतरण भयो। साउदी अधिकारीहरूका अनुसार दुवै पाइलटलाई अस्पताल लगिएको थियो। चिकित्सकीय जाँचपछि उनीहरूलाई पछि अबुधाबी सारिएको थियो।
यूएईका महान्यायाधिवक्ता हमाद सैफ अल-शम्सीले शनिबार भनेका छन्, ती को-पाइलटले ‘आतङ्कवादी कार्य’ सुरु गरेको अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेका छन्।
अल-शम्सीका अनुसार, को-पाइलटले ककपिटभित्र विमानको आपत्कालीन क्र्यास बञ्चरो प्रयोग गरी क्याप्टेनमाथि आक्रमण गरेका थिए र ‘विमानको नियन्त्रण आफ्नो हातमा लिने प्रयास गरेका थिए’।
क्र्यास बञ्चरो आपत्कालीन अवस्थामा विमानभित्र बाटो बनाउन पाइलटहरूलाई मद्दत गर्न ककपिटमा राखिने एउटा औजार हो।
बिहीबार, अल-शम्सीले अनुसन्धानकर्ताहरूलाई यो घटना ‘आतङ्कवादी गतिविधि वा मनसाय’ सँग जोडिएको छ वा यसमा पूर्व योजना वा निर्देशन समावेश थियो भन्ने कुरा पत्ता लगाउन आदेश दिएका थिए।
यूएईले हालसम्म सार्वजनिक रूपमा आक्रमणको उद्देश्य यकिन गरेको छैन। साथै अनुसन्धानकर्ताहरूले अल-हम्मामीले एक्लै यस्तो काम गरेका हुन् भन्ने मानेका छन् या छैनन् भन्ने पनि घोषणा गरेको छैन।
यूएईका राष्ट्रपतीय सल्लाहकार अनवर गर्गशले शनिबार भनेका छन्, पछिल्लो ‘आतङ्कवादी’ आक्रमणले यस क्षेत्रमा उग्रवादविरुद्धको लडाइँ अझै समाप्त नभएको नयाँ चेतावनी दिएको छ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसले यूएईको प्रारम्भिक र दृढ अडानको महत्त्वलाई रेखांकित गर्छ: उग्रवादलाई कुनै सहनशीलता छैन र यसको बयानबाजीप्रति कुनै छुट छैन। सुरक्षाको सुरुवात घृणाको सामना गर्दै उग्रवादका स्रोतहरू सुकाउनुबाट हुन्छ।’
अहिले अबुधाबीले यस अनुसन्धानको नेतृत्व गरिरहेको छ। सरकारी वकिलहरूले आक्रमणको परिस्थिति, यसको उद्देश्य र अन्य व्यक्तिहरूसँगको सम्भावित सम्बन्धबारे जाँच गरिरहेका छन्।
यसअघि अल-शम्सीले विमान यूएईमा दर्ता भएको र आफ्नै झण्डामुनि उड्ने भएकाले यस घटनामा यूएईका न्यायिक अधिकारीहरूको अधिकार क्षेत्र लाग्ने बताएका थिए। विमानभित्र भएका अपराधहरूमा ‘ती देशको क्षेत्रबाहिर भए तापनि’ यूएईको कानुन लागू हुने उनले थपे।
शनिबार, अल-शम्सीले अनुसन्धानकर्ताहरू ‘प्राविधिक परीक्षण पूरा गर्न तथा भौतिक र डिजिटल प्रमाणहरूको जाँच गर्नुका साथै घटनाका सबै परिस्थिति, यसका उद्देश्य र सम्बन्धित व्यक्तिहरूबारे पत्ता लगाउन’ काम गरिरहेको जानकारी दिए।
आवश्यक प्रक्रिया पूरा हुनासाथ अन्तिम नतिजा सार्वजनिक गरिने उनले बताए।
यसैबिच, अनुसन्धान चलिरहँदा इजरायलतर्फका फ्लाई दुबईका उडानहरू अझै स्थगित नै छन्।