बेलायतस्थित फेयरफोर्ड सैन्य बेसबाट अमेरिकाले फिर्ता बोलायो सबै बमवर्षक विमान

आप्रवासन आप्रवासन

बेलायतस्थित ‘आरएएफ फेयरफोर्ड’ सैन्य आधार शिविरनजिकै भएको सन्दिग्ध सुरक्षा घटनापछि संयुक्त राज्य अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको छ । अमेरिकी रक्षा अधिकारीले आइतबार दिएको जानकारी अनुसार फेयरफोर्ड बेसमा रहेका सबै बमवर्षक विमानहरूलाई अमेरिकास्थित आफ्नै नियमित स्टेसनहरूमा फिर्ता लगिएको छ । आइतबार रकवेल बी–१ लान्सर हेभी बम्बर विमानहरू अमेरिकाका लागि उडेका थिए ।

अमेरिकाले विमानहरू फिर्ता गर्नुको आधिकारिक कारण स्पष्ट पारेको छैन । तर, गत २७ सेप्टेम्बरमा ग्लोस्टरशायरस्थित उक्त एयरबेस नजिकै तीनवटा ‘शङ्कास्पद सवारीसाधन’ फेला परेपछि सुरक्षा अनुसन्धान चलिरहेकै बेला यो कदम चालिएको हो । बेलायती प्रशासनिक स्रोतहरूले पनि वासिङ्टनको यो निर्णय फेयरफोर्ड घटनाकै प्रतिक्रियास्वरूप आएको कुरालाई अस्वीकार गरेका छैनन् । यो राजनीतिक नभई कार्यसञ्चालन (अपरेसनल) तहमा अमेरिकी सेनाले लिएको सैन्य निर्णय भएको र यसबारे बेलायती सेनालाई जानकारी गराइएको बीबीसीले जनाएको छ । बेलायती रक्षा मन्त्रालयले भने यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।

गत २७ सेप्टेम्बरको बिहान अमेरिकी वायुसेनाद्वारा सञ्चालित उक्त आधार शिविरतर्फ शङ्कास्पद रूपमा अघि बढिरहेका सवारीसाधनबाट २३ देखि २५ वर्ष उमेरका पाँच जना बेलायती नागरिकलाई पक्राउ गरिएको थियो । लन्डनका ती युवाहरूलाई सुरुमा विस्फोटक पदार्थ र पछि आतङ्कवादी गतिविधि तयारीको आशङ्कामा पक्राउ गरिए पनि प्रहरीले रणनीति र अनुसन्धानको हिस्सा भन्दै उनीहरूलाई धरौटी (बेल) मा रिहा गरेको थियो । त्यसपछि बिहीबार लन्डनबाट पक्राउ परेका २५ वर्षीय छैटौँ व्यक्ति (बेलायती–इरानी नागरिक) लाई पनि शनिबार धरौटीमा रिहा गरिएको काउन्टर टेरर प्रहरीले पुष्टि गरेको छ ।

उक्त घटनाको केही दिनपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले यस घटनामा इरानको हात रहेको ‘बलियो सङ्केत’ मिलेको बताएका थिए ।  यद्यपि उनले यससम्बन्धी थप विवरण खुलाएनन् । तेहरानले भने यसमा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै आरोपको कडा खण्डन गरेको छ ।

यसैबिच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजसँग कुरा गर्दै यस घटनामा स्पष्ट रूपमा ‘विदेशी पक्षको हात’ संलग्न रहेको दाबी गरेका थिए । अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पक्राउ परेका पाँचै जनालाई धरौटीमा रिहा गरिएकोमा आश्चर्य व्यक्त गरेका छन् । ट्रम्पले भने, ‘हामीलाई उनीहरूबारे सबै कुरा थाहा छ, हामीले भए उनीहरूलाई रिहा गर्ने थिएनौँ ।’ यद्यपि, यस विषयमा बेलायतले अमेरिकासँग निकै निकट भएर काम गरेको उनले बताएका छन् ।

अमेरिकी वायुसेनाले विगत दशकौँदेखि आरएएफ फेयरफोर्डलाई ‘फर्वार्ड अपरेटिङ बेस’ का रूपमा प्रयोग गर्दै आएको छ । इरानविरुद्धको रक्षात्मक कारबाहीका लागि उक्त आधार शिविर प्रयोग गर्न बेलायतले अनुमति दिएपछि पछिल्ला महिनाहरूमा अमेरिकी बमवर्षक विमानहरूले यहीँबाट मध्यपूर्वका लागि उडान भर्दै आएका थिए । गत जुलाईमा इरानले ‘इरानी भूमिमाथि आक्रमणका लागि प्रयोग हुने जुनसुकै आधार शिविर आफ्नो सेनाको वैध निशाना बन्ने’ चेतावनी दिएको थियो ।