रुसी राज्य समाचार एजेन्सी टासका अनुसार इर्कुत्स्क नजिकैको शेलेखोभमा रहेको एन्टी-प्लेग रिसर्च इन्स्टिच्युटमा उक्त दुर्घटना भएको हो।
संक्रामक रोगसम्बन्धी निकाय ‘रोस्पोत्रेब्नाद्जोर’ का अनुसार प्रयोगशालाबाट कुन भाइरस वा जीवाणु बाहिरियो भन्ने अझै स्पष्ट हुन सकेको छैन। दुर्घटनामा अज्ञात न्युमोनिया पुष्टि भएपछि प्रयोगशालाकी एक २८ वर्षीया महिला कर्मचारीको मृत्यु भएको छ।रोस्पोत्रेब्नाद्जोरले इर्कुत्स्क क्षेत्रका साथै इर्कुत्स्क र शेलेखोभ सहरको सेनेटरी तथा महामारीको स्थिति नियन्त्रणमै रहेको दाबी गरेको छ। उक्त निकायले भनेको छ, ‘इर्कुत्स्क एन्टी-प्लेग इन्स्टिच्युटका एक कर्मचारीको केसका सम्बन्धमा विशेष उपायहरू अपनाइएको छ।’
छिमेकी गणतन्त्र बुरियातियाका प्रमुख अलेक्सी त्सीदेनोभले ती महिला कर्मचारीको मृत्यु सम्भावित रूपमा प्लेगका कारण भएको बताएका छन्। उनले बुरियातियामा भने प्लेगको कुनै प्रकोप नरहेको स्पष्ट पारे।
इर्कुत्स्कका गभर्नर इगोर कोब्जेभले शुक्रबार सर्वसाधारणलाई शान्त रहन आग्रह गर्दै रुसका मुख्य राज्य डाक्टरसँग क्षेत्रीय महामारी विरुद्धको आयोगको असाधारण बैठक बसेको जानकारी दिए। कोब्जेभले टेलिग्राममा लेखेका छन्, ‘यस क्षेत्रका एक निवासीलाई असर गर्ने अत्यन्तै खतरनाक सङ्क्रमणको आशङ्काका सम्बन्धमा बैठक बोलाइएको हो।’
प्रयोगशाला नजिकै रहेको एक एल्युमिनियम प्लान्टले पूर्वसावधानीका रूपमा आफ्ना कर्मचारीहरूलाई मास्क लगाउन निर्देशन दिएको छ। इर्कुत्स्क एल्युमिनियम प्लान्टका निर्देशक आर्तेम फोमिनिखले बजारमा धेरै अफवाह र विरोधाभासी समाचारहरू आएको उल्लेख गर्दै मानिसहरूलाई शान्त रहन आग्रह गरे।
फोमिनिखले भने, ‘पहिचान गरिएका सबै निकट सम्पर्कमा रहेका व्यक्तिहरू चिकित्सकको निगरानीमा छन्। हाल उनीहरूमा रोगको कुनै लक्षण देखिएको छैन र प्रयोगशाला परीक्षणको नतिजा पनि नेगेटिभ आएको छ।’
अनौपचारिक रिपोर्टहरू र स्वतन्त्र क्षेत्रीय समाचार माध्यम ‘ल्युदी बैकाला’ का अनुसार ती महिला प्राविधिकलाई लगिएको शेलेखोभको अस्पतालमा करिब २०० जनालाई निगरानीमा राखिएको छ। सोही सहरको कम्तीमा एउटा प्रसूति गृहमा क्वारेन्टिन लागू गरिएको दाबी पनि गरिएको छ।
रोस्पोत्रेब्नाद्जोरका पूर्वप्रमुख गेनाडी ओनिशचेन्कोले इर्कुत्स्क क्षेत्रमा फैलिएको सङ्क्रमण सम्भवतः प्लेग नभएको र पुष्टि भइहाले पनि यो रोग नफैलिने दाबी गरे। टाससँग कुरा गर्दै उनले चिसो मौसम सुरु भएकाले सङ्क्रमण फैलन नपाउने बताए।
न्युमोनिक प्लेग, ‘येर्सिनिया पेस्टिस’ नामक जीवाणुका कारण हुने तीन प्रकारका प्लेगहरूमध्ये एक हो। अन्य दुई प्रकारका प्लेगहरू सामान्यतया सङ्क्रमित उपियाँ, जनावर वा सङ्क्रमित तन्तुहरूको सम्पर्कबाट सर्छन्। तर, फोक्सोलाई असर गर्ने न्युमोनिक प्लेग भने श्वासप्रश्वासका कणहरूका माध्यमबाट मानिसबाट मानिसमा सजिलै सर्न सक्छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले रुसमा न्युमोनिक प्लेगका कारण मृत्यु भएको हुन सक्ने सम्भावित घटनाबारे अमेरिका जानकार रहेको सीएनएनलाई बताएका छन्।
अमेरिकी प्रवक्ताले भने, ‘हामी सीडीसी र हाम्रा अन्य साझेदार निकायहरूसँग मिलेर स्थितिको नजिकबाट निगरानी गरिरहेका छौँ। धेरै विवरणहरू अझै पुष्टि हुन बाँकी छन्। हामी रुसी अधिकारीहरूलाई सटीक जानकारी छिटो र पारदर्शी रूपमा साझा गर्न प्रोत्साहन गर्छौँ।’
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार न्युमोनिक प्लेगका बिरामीहरूमा जोरो आउने, टाउको दुख्ने, कमजोरी हुने र छाती दुख्ने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने र कहिलेकाहीँ रगत वा पानीजस्तो सिँगान आउने जस्ता कडा न्युमोनियाका लक्षणहरू तीव्र रूपमा विकास हुन्छन्।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले सीडीसीले रुसको स्थितिलाई नजिकबाट नियालिरहेको र अमेरिकी नागरिकको सुरक्षा नै आफूहरूको सर्वोच्च प्राथमिकता रहेको जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्लेगमा मृत्युदर उच्च हुने भए पनि एन्टिबायोटिकको प्रयोग र पूर्वसावधानी अपनाउँदा यसको सजिलै उपचार गर्न सकिने जनाएको छ।