चीनले सुरु गरेको विश्वव्यापी विकास पहल पाँच वर्ष पूरा भएको छ। पछिल्लो समय यो पहल विकासोन्मुख देशका आवश्यकता पूरा गर्न व्यवहारिक सहयोगमा बढी केन्द्रित हुँदै गएको संयुक्त राष्ट्रसंघको एक वरिष्ठ अधिकारीले बताएका छन्।
संयुक्त राष्ट्रसंघको दक्षिण–दक्षिण सहकार्य कार्यालयको निर्देशक दिमा अल–खतिबले यो पहलले विकासका लागि देशहरूबीच साझेदारी, ज्ञान र स्रोत जुटाउन सहयोग गरेको बताए।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका अनुसार सन् २०२४ को अन्त्यसम्म यस पहलअन्तर्गत ६ सयभन्दा बढी परियोजना सुरु भइसकेका वा सञ्चालनमा रहेका थिए । सन् २०२५ को मार्चसम्म परियोजनाका लागि १४ अर्ब अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता जुटाइएको थियो।
विकासोन्मुख देशलाई सहयोग
अल–खतिबका अनुसार दक्षिण–दक्षिण सहकार्यको उद्देश्य एउटा देशको अनुभव अर्को देशको आवश्यकता अनुसार प्रयोग गर्नु हो । यसअन्तर्गत ६० भन्दा बढी प्राविधिक संस्थालाई जोडेर विकासोन्मुख देशबीच सहकार्य बढाउने परियोजना सञ्चालन भइरहेको छ।
पश्चिम अफ्रिकामा धान उत्पादन बढाउन प्रविधि र तालिम दिइँदैछ। यसबाट कृषि उत्पादन बढाउनुका साथै उत्पादनपछि हुने क्षति घटाउने र ग्रामीण क्षेत्रमा रोजगारी तथा आम्दानी बढाउने लक्ष्य राखिएको छ।
डिजिटल क्षेत्रमा पनि सहकार्य भइरहेको छ। विद्युतीय व्यापारसम्बन्धी तालिममा ९० भन्दा बढी देशका मानिस सहभागी भएका छन् । २२ विकासोन्मुख देशका नीति निर्माताले चीनमा पुगेर यससम्बन्धी अध्ययनसमेत गरेका छन्।
सन् २०३० को लक्ष्यमा जोड
सन् २०३० को दिगो विकास लक्ष्य पूरा गर्न अब चार वर्ष मात्र बाँकी रहेको अवस्थामा विकासका कामलाई अझ तीव्र बनाउनुपर्ने अल–खतिबले बताए। उनका अनुसार विकासोन्मुख देशका आवश्यकता अनुसार प्रविधि, प्राविधिक ज्ञान, आर्थिक सहयोग र तालिम उपलब्ध गराउन विश्वव्यापी विकास पहलले सहयोग गर्न सक्छ।
सन् २०२५ को सेप्टेम्बरमा चीन र संयुक्त राष्ट्रसंघले सन् २०२५ देखि २०३० सम्मका लागि एक करोड अमेरिकी डलरको सहयोगसहित नयाँ विकास कोष घोषणा गरेका थिए।
उक्त कोषबाट कृषि, प्रविधि र डिजिटल विकासलगायतका क्षेत्रमा विकासोन्मुख देशलाई सहयोग गरिनेछ।
पहिलो चरणमा १६ वटा संयुक्त राष्ट्रसंघीय निकायबाट १०७ वटा परियोजना प्रस्ताव प्राप्त भएका थिए। ती प्रस्तावले विश्व दक्षिणका ११५ देशलाई समेटेका थिए।
अल–खतिबले आगामी दिनमा स्थानीय आवश्यकता, स्पष्ट परिणाम र लामो समयसम्म उपयोग गर्न सकिने परियोजनालाई प्राथमिकता दिनुपर्ने बताए।