दक्षिणपूर्वी एसियामा चिनियाँ सैन्य पहुँच विस्तार

आप्रवासन आप्रवासन

चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको राजधानी भियन्टियानबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बान केउनमा नयाँ हवाई सैन्य सुविधा सञ्चालनमा ल्याएको छ । चीनले सन् २०१७ मा जिबुटीमा पहिलो विदेशी सैन्य आधार स्थापना गरेपछि दक्षिणपूर्वी एसियामा कम्बोडियाको नौसैनिक सुविधापछि लाओसमा यस्तो हवाई केन्द्र सञ्चालनमा ल्याएको हो ।

चीनको राष्ट्रिय रक्षा मन्त्रालयले सेप्टेम्बर २९ मा बान केउनमा चीन–लाओस संयुक्त समर्थन तथा प्रशिक्षण केन्द्र र मैत्री उड्डयन एकेडेमी सञ्चालनमा आएको जानकारी दिएको थियो । उद्घाटन समारोहमा लाओसका रक्षामन्त्री खामलिएङ ओथाकेसन सहभागी भएका थिए । चीनले केन्द्रको उद्देश्य लाओसका वायुसेना पाइलटको प्रशिक्षण क्षमता अभिवृद्धि गर्नु तथा दुई सेनाबिचको व्यावहारिक सहयोग विस्तार गर्नु रहेको जनाएको छ ।

बान केउनमा दुई हजार मिटर लामो पक्की धावनमार्ग, ट्याक्सीवे, पार्किङ एप्रन, हवाई यातायात नियन्त्रण टावर र पाँचवटा ह्याङ्गर छन् । चीनले उक्त सुविधा कुनै तेस्रो देशविरुद्ध लक्षित नभएको र क्षेत्रीय शान्ति तथा स्थायित्वमा योगदान पुर्‍याउने बताएको छ ।

तर चिनियाँ सैन्य टिप्पणीकारहरूका अनुसार चीनले बान केउनलाई लाओसको वायुसेना प्रशिक्षणका साथै क्षेत्रीय हवाई अभ्यास र इन्डोचाइना क्षेत्रमा आफ्नो प्रभाव विस्तारका लागि उपयोग गर्न सक्ने सम्भावना छ । चीन–लाओस रेलमार्गसँगको निकटता तथा राजधानीनजिकको अवस्थिति भएकाले कर्मचारी र उपकरण सार्न पनि सहज हुने बताइएको छ ।

लाओसको वायुसेनाले रुसी तथा चिनियाँ निर्मित विमान र हेलिकप्टर प्रयोग गर्दै आएको छ । नयाँ केन्द्रमा चीनले कस्ता विमान वा कति सैनिक तैनाथ गर्ने भन्ने स्पष्ट गरेको छैन । अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटले पनि चिनियाँ सैनिक तथा उपकरण स्थायी रूपमा तैनाथ हुनेबारे पर्याप्त जानकारी नभएको जनाएको छ ।

यद्यपि, लाओसमा निरन्तर सैन्य उपस्थिति कायम गर्नु र दुई देशका सेनाबिच सम्बन्ध गहिरो बनाउनु यसको प्रमुख महत्त्व हुन सक्ने उसको मूल्याङ्कन छ । कम्बोडियाको रेम नौसैनिक सुविधासँगै लाओसको नयाँ हवाई केन्द्रले इन्डोचाइना क्षेत्रमा चीनको सैन्य पहुँच विस्तार भएको देखाउँछ ।

रेममा चीन र कम्बोडियाले सन् २०२५ मा संयुक्त समर्थन तथा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका थिए । चीनले त्यहाँ पूर्वाधार निर्माणमा सहयोग गर्नुका साथै आफ्ना युद्धपोतसमेत पठाउँदै आएको छ । कम्बोडियाले भने उक्त सुविधा अन्य मित्रराष्ट्रका नौसेनाका लागि पनि खुला रहेको बताउँदै आएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार नयाँ उड्डयन केन्द्रले पाइलट, स्थल कर्मचारी र अन्य उड्डयन जनशक्तिको प्रशिक्षण प्रणाली विकास गर्न सहयोग गर्नेछ । यसबाट लाओसको चीन, रूस र भियतनाममा हुने विदेशी प्रशिक्षणमाथिको निर्भरता घटाउने उद्देश्य रहेको बताइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले चीनले विदेशमा सैन्य सुविधाहरू विस्तार गरी लामो दूरीमा सैन्य शक्ति परिचालन गर्ने क्षमता बढाइरहेको उल्लेख गर्दै आएको छ । यद्यपि, उसको अघिल्लो सम्भावित सैन्य आधारसम्बन्धी सूचीमा लाओसको नाम थिएन ।

नयाँ बान केउन केन्द्रले चीनको क्षेत्रीय सैन्य उपस्थिति, प्रशिक्षण तथा रक्षा सम्बन्ध विस्तारमा कस्तो भूमिका खेल्छ भन्ने कुरा भने चीन र लाओसबीचका सम्झौता तथा त्यसको वास्तविक प्रयोगमा निर्भर हुने देखिन्छ ।