विमान अपहरण प्रयास प्रकरण  : इजरायलको बेन गुरियन विमानस्थल मुख्य निशानामा रहेको खुलासा

आप्रवासन आप्रवासन

 

दुबईबाट तेलअविवतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा भएको अपहरणको प्रयासका मुख्य योजनाकार भनिएका सह-पाइलट हमाम अल-हमामीले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थललाई नै मुख्य निशाना बनाउन खोजेको आशङ्का गरिएको छ। 

सीएनएनका अनुसार इजरायली अधिकारीहरूले यो घटनाको अनुसन्धान गरिरहेका छन्।

गत सेप्टेम्बर ३० मा साउदी अरबको आकाशमा भएको उक्त अपहरण प्रयासका क्रममा हमामीले ककपिटमा रहेका पाइलट स्मिथ माच्छरमाथि कुल्हारीले आक्रमण गरेका थिए। तर, पाइलट र विमानमा सवार केही यात्रुहरूको साहसका कारण हमामीलाई नियन्त्रणमा लिन सफल भएपछि ठूलो दुर्घटना टरेको थियो।

सीएनएनले जनाएअनुसार, अहिलेसम्मको अनुसन्धानमा हमामीले एक्लै यो घटना घटाएको देखिएको छ। हालसम्म उनले कुनै पनि आतङ्कवादी सङ्गठनबाट तालिम लिएको वा उक्त सङ्गठनले यो आक्रमणका लागि आर्थिक सहयोग गरेको प्रमाण फेला परेको छैन। संयुक्त अरब इमिरेट्स (यूएई) का महान्यायाधिवक्ताले यो घटनालाई ‘आतङ्कवादी कार्य’ भन्दै अनुसन्धान जारी राखेका छन्।

अनुसन्धानका क्रममा हमामी यसअघि ओमानको राष्ट्रिय विमान सेवामा कार्यरत रहेको र उनको ‘कट्टरपन्थी विचार’ का कारण उनलाई पाइलटको तालिमबाट हटाई प्रशासनिक काममा लगाइएको तथ्य सार्वजनिक भएको छ। दुई देशका कडा सुरक्षा प्रोटोकलहरूलाई छलेर हमामी कसरी ककपिटसम्म पुग्न सफल भए भन्ने विषयले सुरक्षा निकायहरूमा प्रश्न उठाएको छ।

इजरायली सञ्चारमाध्यम ‘च्यानल १२ न्यूज’ ले पनि तेलअविवस्थित बेन गुरियन विमानस्थल नै अपहरणकारीको मुख्य लक्ष्य भएको रिपोर्ट सार्वजनिक गरेको थियो। घटनाको जानकारी पाउनासाथ इजरायलले आफ्ना लडाकु विमानहरू ‘अलर्ट’ मा राखेको थियो।

अहिले यूएईले उक्त घटनाको मुख्य अनुसन्धानको नेतृत्व गरिरहेको छ। इजरायली यातायात मन्त्रालयले भने हालको सुरक्षा प्रक्रियामा पाइलटको नाम ‘स्क्यानिङ’ गर्ने प्रावधान नभएको स्वीकार गर्दै यस घटनापछि सुरक्षा नीतिबारे पुनरावलोकन गर्नुपर्ने संकेत गरेको सीएनएनको समाचारमा उल्लेख छ ।