अमेरिकाले डिपोर्ट गरेका चार जना भुटानी शरणार्थी युवालाई जनही ५-५ हजार जरिवाना गराउँदै नेपालबाट पनि डिपोर्ट गर्ने निर्णय भएको छ । अध्यागमन विभागले डिपोर्ट गरेका चार जना भुटानी शरणार्थी युवालाई सके अमेरिका नभए भुटानतिरै डिपोर्ट गर्ने निर्णय गरेको हो ।
उनीहरूलाई ५-५ हजार जरिवानाका अलावा भिसा शुल्क र बिलम्ब शुल्कबापत दैनिक ८ डलर तिराउने पनि निर्णय भएको छ । कूटनीतिक पहलका लागि परराष्ट्रलाई पत्र लेखेर पठाएको समेत जनाइएको छ।
उनीहरूको ट्राभल डकुमेन्ट नबनेसम्म स्थान हद तोकेकै ठाउँमा बस्नेछन् । अमेरिकाबाट डिपोर्ट भएर चैत १५ मा भुटान पुर्याएका उनीहरूलाई कागजात खोसेर खर्च दिएर भुटानले उनीहरूलाई नेपाल पठाएको थियो।
बिना भिसा नेपाल पसेको अभियोगमा ३ जनालाई चैत १६ मा, एक जनालाई चैत १९ मा प्रहरीले पक्रेर राखेको थियो । २८ दिन हिरासतमा रहेका उनीहरू वैशाख ११ को सर्वोच्चको आदेशपछि वैशाख १२ मा थुनामुक्त भएका थिए ।
तीन जना बेलडागी र एक जना मोरङ पथरी शनिश्चेरमा स्थान हद तोकिएर रहेका छन् । उनीहरूले हिरासत बस्दाको अवधिको भिसा र बिलम्ब शुल्क तिर्न पर्दैन । अध्यागमन ऐन २०४९ अनुसार विदेशी नागरिक बिना भिसा र पासपोर्ट नेपाल बस्न पाउँदैनन् ।