पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै इस्लामाबादतर्फ सुरु भएको लङ मार्च आज पेसावर आइपुग्दै छ। मार्च पेसावर प्रवेश गर्ने भएपछि सहरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।
पाकिस्तान तहरीक-ए-इंसाफ (पीटीआई) को यो मार्च आज पेसावर सहर हुँदै पेसावर र चारसद्दाको सीमा क्षेत्रसम्म पुग्नेछ। मार्चका कारण उत्पन्न हुन सक्ने परिस्थितिलाई ध्यानमा राख्दै पेसावरका केही निजी शिक्षण संस्थाहरूले बिहीबारका लागि बिदाको घोषणा गरेका छन्। अभिभावकहरूलाई बुधबार साँझ नै सन्देश पठाएर बिदाबारे जानकारी दिइएको थियो। बीबीसी उर्दूका अनुसार केही निजी विद्यालयहरूले बिदा दिएका भए पनि सरकारी विद्यालयहरू बन्द हुने वा नहुने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी गराइएको छैन।
यसैबिच, पेसावरका केही क्षेत्रहरूमा मोबाइल फोन सेवा ठप्प भएको खबर छ। तर, यसको आधिकारिक रूपमा पुष्टि वा खण्डन दुवै भएको छैन। इमरान खानको पार्टी र पाकिस्तानको वर्तमान नेतृत्वबिच गहिरो मतभेद रहेकै समयमा यो मार्च निकालिएको हो। इमरान खानको पार्टी पीटीआईको सरकार रहेको उत्तर-पश्चिम प्रान्त खैबर पख्तुनख्वाबाट आइतबार यो र्याली सुरु भएको थियो। इस्लामाबाद पुग्नुअघि यो मार्च विभिन्न स्थानहरूमा रोकिने जनाइएको छ।